शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार पूर्वप्रधानमन्त्री देउवाले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् । उनी डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए ।
२०४८ सालदेखि जन्मथलो डडेलधुराबाट चुनाव लड्दै र जित्दै आएका देउवाले यसपटक टिकट नै नपाएका हुन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि देउवाले अदालतमा मुद्दा हाल्न लगाएका छन् । सभापति थापाले उनलाई टिकट नदिने निर्णय गरिसकेका थिए।
२०४८ मा निर्वाचित भएर गृहमन्त्री बनेका देउवाले त्यसपछिका कुनैपनी निर्वाचन हारेका छैनन् । पाँच पटक देशको प्रधानमन्त्री बनेका देउवाले जेनजी आन्दोलनमा कुटाइ समेत खानुपर्यो। यद्यपि पार्टी भित्र देउवाको पक्षमा नेताहरू पूर्णबहादुर खड्का,डा.प्रकाशशरण महत,बालकृष्ण खाण,रमेश लेखक,कृष्ण सिटौला लगायतले साथ छाडेका छैनन् ।
यसैबीच देउवा पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणाले पनि टिकट नपाउने निश्चित भएको छ। उनी कैलाली-५ बाट उम्मेदवार बन्ने तयारीमा थिइन् ।

