देउवा समूह अदालत जाने !

काठमाडौं । पार्टीको आधिकारिकता नपाएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अदालत जाने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएपछि देउवा समूह अदालतको बाटो रोज्न बाध्य भएको हो।

नेपाली कांग्रेसको चुनाव चिन्ह रुख समेत गुमाउन पुगेको देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षमा जाने उद्घोष गर्दै अब मौदानमा निस्कने बुझिएको छ। यद्यपि अब दुई दिनपछि निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने चापका कारण मुद्दा  मामिला गर्ने समय भने छैन। त्यसोत देउवा समूह गगनलाई सभापति मानेर कांग्रेसको चुनाव चिन्हबाट निर्वाचन नलड्ने हो भने छुट्टै दलको लागि आयोगले समय दिने बताएको छ।

गत पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक मान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्ष नेताको बैठकले गगनलाई नमान्ने बरु संघर्षमा उत्रिने निष्कर्ष निकालेको छ। यो समूहमा पूर्णबहादुर खड्का सहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, दीपक खड्काहरु छन् । उनीहरु राती अबेरसम्म शेरबहादुर देउवा निवास महाराजगन्जमा बसेका थिए।

तर,नेपाली कांग्रेस र रुख जता हुन्छ त्यतै लाग्ने भनेर बसेका धेरै नेताकार्यकर्ता अब गगन थापालाई सभापति मानेर अघि बढ्न तयार भएका छन् । उनीहरूले विवाद र झगडा गरेर अदालत जानुभन्दा चुनावी अभियानमा एक भएर अघि बढ्नुपर्नेमा मत जाहेर गरेका छन् । यसरी सहजीकरण गर्नेमा नेता शेखर कोइराला र देउवा निकटका पनि छन् ।

यसैबीच देउवा समूहका केही नेताले कुनैपनी हालतमा गगन नेतृत्वमा नबस्ने भन्दै अदालतले पनि थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएमा नयाँ पार्टी गठन गरेर जाने समेत बताएका छन् । यसरी छुट्टै पार्टी बनाएर जान सकिने भन्नेहरू देउवासँगसँगै २०५९ मा कांग्रेस फुटाउनेहरु बढी छन् । स्रोतका अनुसार अदालतले पनि गगन थापालाई नै मान्यता दिएमा कृष्ण सिटौला समूहले पनि छुट्टै पार्टी बनाउने अभियानमा साथ दिनेछ।

तर,नवनिर्वाचित सभापति थापाले भने अब गुटको अन्त्य भएको भन्दै कांग्रेसमा कसैलाई अन्याय नहुने र सबैले सम्मान र इज्जत साथ पार्टीको जिम्मेवारी पनि पाउने बताएका छन् । उनले टिकट वितरणमा पनि कुनै भेदभाव नहुने,पहिले सिफारिस भएर आएकै नामबाट उम्मेदवार छान्ने,कसैले टिकटका लागि गुनासो गर्नुनपर्ने अवस्था आउने र कांग्रेसले एक्लै चुनाव लडेर जित्ने बताएका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय