बालेन झापा-५ र रवि चितवन-२ बाट उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने सहित केही नेताको चुनावी क्षेत्र टुङ्याएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट माघ ४ गते राजिनामा दिने र चुनावी कार्यक्रम सहित देश दौडाहा सुरु गर्ने बताइसकेका छन् । उनी रास्वपाको बरिस्ठ नेता हुन् । माघ ५ देखि उनको पार्टीले आयोजना गर्ने ठुला सभा र सार्बजनिक कार्यक्रममा उपस्थिति रहनेछ। उनको पहिलो सम्बोधन मैथिली भाषामा जनकपुरबाट हुनेछ। माघ ५ गते जनकपुरमा हुने पार्टी प्रवेश कार्यक्रममा बालेन मुख्य बक्ता हुने तय भएको छ।

रास्वपाले बालेनलाई झापा निर्वाचन क्षेत्र नम्बर-५ बाट उम्मेदवार बनाउने लगभग पक्का भएको छ। यो क्षेत्रमा यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जित्दै आएका थिए। यसपटक पनि ओली यहीँबाट चुनाव लड्ने तयारी छ। यदी एमाले र रास्वपाले उम्मेदवार फेरबदल नगरेमा झापा-५ मा यसपटक बालेन र ओलीको भिडन्त रोचक हुनसक्छ ।

त्यसैगरी सभापति रवि लामिछाने साविककै निर्वाचन क्षेत्र चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनले चितवन २ नै आफ्नो क्षेत्र रहेको जनाउ यसअघि नै दिइसकेका छन् । पार्टीले पनी उनको लागि चितवन २ नै प्रस्ताव गरेको छ। चितवन १ मा हरि ढकालले दोहोर्‍याउन चाहेका  छन् । यद्यपि पार्टीले टुंगो लगाउन बाकी छ। चितवन ३ मा सोबिता गौतमको चर्चा भएपनी सोबिता काठमाडौं २ बाटै उठ्ने देखिन्छ। उनी २०७९ मा पनि यहीँबाट विजयी भएकी थिइन् ।

उता उपसभापति डिपि अर्याल काठमाडौं ९ बाट उम्मेदवार हुने लगभग पक्का छ। यसअघि धादिङ २ बाट उठ्ने चर्चा भएपनी धादिङ २ मा कांग्रेस छाडेर आएका कृष्णमान शाक्य वा माओवादी छाडेर आएका बोधनारायण श्रेष्ठ मध्य एकलाई टिकट दिनुपर्ने भएपछि अर्याल काठमाडौं ९ मा पक्का जस्तै भएका हुन् ।

अर्का उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवार हुने पक्का छ। उनी यसअघि पनि सोही क्षेत्रबाट फाराकिलो मतान्तरले विजयी भएका थिए। यो कांग्रेसको गढ जस्तै मानिएको क्षेत्र भएपनी यहाँ रास्वपाले बाजि मार्न सकेको थियो। भावी अर्थमन्त्री भनेर घोषणा नै गरिसकिएको वाग्लेलाई गोरखा र चितवन मध्य कुनै एक क्षेत्रमा लैजाने चर्चा पनि छ। तर, अहिलेसम्म उनी तनहुँ १ बाटै उम्मेदवार हुने देखिएको छ। रास्वपाले पछिल्लो समय बालेन समूहबाट पार्टीमा भित्र्याएको सागर ढकाललाई डडेल्धुराबाट चुनाव उठाउने भएको छ। यसअघि पनि सागरले डडेल्धुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

उता,पूर्व स्वस्थ्यराज्यमन्त्री डा.तोशिमा कार्कीलाई रास्वपाले ललितपुर ३ बाट र बिराजभक्त श्रेष्ठलाई काठमाडौं ८ बाट प्रतिस्पर्धा गराउने भएको छ। काठमाडौंबाट रास्वपाको टिकट लिएर चुनावी प्रतिस्पर्धा गर्न चाहने झन्डै ५० जना नेता रहेकोले उम्मेदवार छनोटमा रास्वपालाई पनि गाह्रो पर्ने देखिन्छ। गणेश पराजुली,पुकार बम,असिफ साह,अरनिको पाण्डे,विपिन आचार्य,राजिव खत्री,शिशिर खनाल,गणेश कार्की लगायत नेता पनि काठमाडौंबाटै चुनाव लड्न चाहन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय