कांग्रेस भित्रको झगडा आज सकिने !

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक कलह आजदेखी औपचारिक रुपमा सकिने भएको छ। केहिबेरमा बस्ने विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षका वार्ताटोलीको छलफलले निकास खोज्ने भनिएको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटनको प्रस्ताव लगेपछि संस्थापन पक्ष झुकेको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी फुटाउन लागेको आरोप लगाउदै बसेको संस्थापन पक्षकै धेरैजसो केन्द्रीय नेता र महाधिवेशन प्रतिनिधि विशेषको हलमा देखिएपछि वार्ताबाट झगडा मिलाउन संस्थापन पक्ष तयार भएको हो।
झगडा मिलाउने जिम्मा पाएका संस्थापनका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँगै पूर्वगृहमन्त्रीद्वय बालकृष्ण खाड र रमेेेश लेेेखकले सभापति शेरबहादुर देउवालाई ‘हामी मिलाउछौं, पार्टी फुट्न दिद्नौ’ भनेर आश्वस्त पारेका छन् । उता गगन-विश्व पक्षबाट वार्ताका लागि प्रदिप पौडेल,मधु आचार्य,गुरुराज घिमिरे र देवराज चालिसेलाई जिम्मेवारी दिइएको छ।
तर, विशेष महाधिवेशन पक्षधरको नियमित कार्यक्रम ९ बजे नै सुरु हुनेछ भने संस्थापनले ११ बजे केन्द्रीय कार्यसम्पादन सहित प्रदेश सभापतिहरुको बैठक बोलाएको छ। संस्थापनले बोलाएको बैठकमा गगन-विश्व लगायत विशेष महाधिवेशन पक्षधर नजाने भनिसकेको छ। यदी संस्थापनले वार्ता वा केन्द्रीय समिति बैठकका नाममा झुलाउने वा झुक्याउने रणनीति बनाएमा विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि चुनावी प्रक्रिया सुरु हुनसक्ने चेतावनी समेत आएको छ।
अबको केही घन्टामा कांग्रेस भित्रको झगडा मिल्न सकेन भए विशेष महाधिवेशनले गर्ने निर्णयले झन् अफ्ट्यारोमा फस्ने देखिन्छ। विशेष महाधिवेशनले गरेको निर्णय निर्वाचन आयोगमा जाने,त्यसपछि आयोगले मिलाउन नसके सर्बोच्च अदालत सम्म पुग्नेछ। यदी त्यस्तो अवस्था आएमा फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसको धेरै कुरा बिग्रन सक्छ। त्यसैले सभापति देउवाले महामन्त्रीद्वयलाई भेटेरै झगडा मिलाउने तयारी गरिरहेका छन् ।

