एनपीएलले नयाँ विजेता पाउँदै, सुदूरपश्चिम र लुम्बिनी फाइनलमा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । शनिबार नयाँ च्याम्पियनको टुंगो पनि लाग्नेछ ।

दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। फाइनल खेल दिउँसो ३:३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

पहिलो संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलोपटक प्लेअफ हुँदै फाइनलमा प्रवेश गरेको टोली हो।

सुदूरपश्चिमले लिग चरणमै उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको थियो। उनीहरूले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई हराउँदै सिधै फाइनलको टिकट पाएका थिए।

राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोलीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा स्थिरता देखाएको छ। विनोद भण्डारीले २६४ रन, आरिफ शेखले १८० रन र दीपेन्द्रसिंह ऐरीले १४९ रन बनाउँदै टोलीका प्रमुख रन–स्कोरर बनेका छन्। बलिङमा अविनाश बोहराले १६ विकेट, हर्मीत सिंहले १२ विकेट र स्कट कुग्लेइनले १० विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका छन्।

सुदूरपश्चिमको लुम्बिनीविरुद्धको हेड–टु–हेड रेकर्ड निकै बलियो छ। दुवै संस्करणमा दुवै भेटमा सुदूरले जित निकालेको छ। गत वर्ष उनीहरूले ४२ रनले जितेका थिए भने यस संस्करणमा पनि ७ विकेटको सहज जित दर्ता गरेका थिए। त्यसैले पनि सुदूरपश्चिम यसपटक उपाधि हात पार्ने दाबेदारका रूपमा उभिएको छ।

लुम्बिनीको यात्रा भने उतारचढावले भरिएको रह्यो। पहिलो खेल जितेपछि तीन खेलमा हार व्यहारेको लुम्बिनीले अन्तिम तीन खेल जितेर प्लेअफमा स्थान बनायो। प्लेअफमा पनि टोलीले उत्कृष्ट पुनरागमन देखाउँदै काठमाण्डू गोर्खासलाई एलिमिनेटरमा र विराटनगर किङ्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्‍यो। विदेशी खेलाडी र टोली संयोजनमा गरिएको परिवर्तनले लुम्बिनीको प्रदर्शनमा सकारात्मक असर परेको देखिन्छ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले २६० रन, डार्सी शर्टले २४२ रन र निरोशन डिक्वेलाले पाँच खेलमा १२६ रन बनाएका छन्। बलिङतर्फ शेर मल्ल १४ विकेटसहित प्रतियोगिताका तेस्रो सर्वाधिक विकेट टेकर बनेका छन् भने रुबेन ट्रम्पलमनले १२ विकेट लिएका छन्।

यद्यपी लुम्बिनीले अहिलेसम्म सुदूरपश्चिमलाई पराजित गर्न सकेको छैन। दुवै संस्करणमा भएका दुवै खेलमा पराजय व्यहारेका कारण यो फाइनल लुम्बिनीका लागि इतिहास बदल्ने मौका पनि हो।

दुवै टोलीले अझै उपाधि नजितेकाले यसपटक जो कोही जिते पनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ। सुदूरपश्चिमको स्थिरता र लुम्बिनीको अन्तिम चरणको पुनरागमनले फाइनललाई झन् रोमाञ्चक बनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय