कम्युनिस्ट पार्टी अब अघि बढ्दैन : बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा कुनैपनी नामधारी कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । उनले कम्युनिस्ट भनेर जनता झुक्याउने बाहेक केही नहुने पनि बताए।

१० बर्ष अघि कम्युनिस्ट पार्टी छाडेर वैकल्पिक राजनीतिक शक्ति निर्माण सहित नयाँ शक्ति पार्टी खोलेर आर्थिक समृद्धि र विकासको खाका अघि सारेका भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा भने-‘ कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै १० बर्ष अघि मैले नयाँ वैकल्पिक अभियान सुरु गरेको हुँ।’

पूर्वप्रधानमन्त्री भट्टराईले अगाडि भने-‘हामीले माओवादी छोडेर गएको होइन । माओवादीको कार्यभार पुरा गरेको हो । २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो । अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ । यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ । युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ । दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ।’

भट्टराईले कम्युनिस्ट पार्टीको नाममा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप समेत लगाए । उनले अहिले तिनै कम्युनिस्टधारीले फेरि समाजवादको भ्रम छरेर ठग्ने काम गरेको जिकिर समेत गरे। ‘कम्युनिस्ट प्रवृत्ति अब चल्दैन । कम्युनिस्ट भन्ने कमाउनिस्ट साथीहरूले चोरी गरेर समाजवादी भनेर व्याख्या गर्न थाले’ उनले भने,-‘अर्को पुँजीवादी धारको नेतृत्व जसले उदारवादी धार भनेको छ । त्यसको नेतृत्व कांग्रेस र अहिले मध्यपन्थी धारले गरेका छन् । यी दुवैको विकल्प हामीले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई अगाडि बढाएका हौँ । प्रगतिशील भनेको गुदी कुरा हो ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय