यो सरकार क्रान्ति होइन तोडफोडबाट बनेको हो-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुशीला कार्की नेतृत्वको बर्तमान सरकार तोडफोड,आगजनी र लुटपाटबाट बनेको दावी गरेका छन् ।
बिघटित प्रतिनिधि सभालाई ब्युँताउने अभियान स्वरुप एमालेका तर्फबाट निवर्तमान सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,-‘यो सरकार क्रान्तिबाट होइन-आगजनी, लुटपाट र तोडफोडबाट आएको हो।’ अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको दाबी गर्दै अहिलेको सरकार त्यहि षडयन्त्रबाट आएको आरोप पनि लगाए।
तत्कालीन अवस्थामा आफैं प्रधानमन्त्री रहेका ओलीले जसले जति कुरा गरेपनी अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी,तोडफोड र लुटपाटबाट आएको दोहोर्याए।’रियल जेनजीहरु त्यसदिन माइतीघरदेखि एभरेष्ट होटलसम्म मात्रै पुगेर घर फर्किएका हुन्’ ओलीले अगाडी भने,-‘ फेक जेनजीहरुले भदौ २४ को विध्वंशको योजनाबमोजिम संसद भवनमा आगो लगाउँन खोज्दा प्रहरीले बाध्यात्मक अवस्थामा गोली चलायो, त्यसपछि के-के भो सबै छर्लङ्ग छ।’ उनले जेन-जीको कुरा भन्दा पनि नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियान भएको जिकिर पनि गरे।
अध्यक्ष ओलीले सम्बोधनका क्रममा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको एउटा अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उनले पाण्डेका अभिव्यक्ति पार्टीविरोधी रहेको भन्दै आपत्ति जनाएका हुन् । उपाध्यक्ष पाण्डेले केही दिन अघि ‘भदौ २३ गते १९ जना मान्छे मार्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो। त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ। धरहरा कसले बनाएको, मैले बनाएको भन्ने, गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन’ भनेर ओलीको बिरोध गरेका थिए ।
आज अध्यक्ष ओलीले उपाध्यक्ष पाण्डेको त्यो अभिव्यक्तिलाई लक्षित गर्दै पार्टीविरुद्धको हमला भएको बताए । ‘अहिले पनि हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्ने गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्। यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो। हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो। जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के?’-ओलेले आक्रोश पोखे।

