जेन-जी आन्दोलन : बिमाको २३ अर्ब दाबी, २ अर्ब ७९ करोड भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक तथा अन्य क्षतिको २३ अर्ब भन्दा बढी दाबी माग भएपनी हालसम्ममा अग्रिम भुक्तानी (पेस्की) समेत गरी करिब दुई अर्ब ७९ करोड ७४ लाख रुपैयाँ मात्रै बिमितहरूलाई भुक्तानी दिइएको छ ।
हालसम्मको जानकारी अनुसार निर्जीवन बिमा कम्पनीहरूमा कुल बिमा दाबी २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ परेको छ। त्यसमध्ये अहिलेसम्म २ अर्ब ७९ करोड ७४ लाख मात्रै भुक्तानी भएको हो ।नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ६७३ वटा दाबीको दुई अर्ब २७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । यसमा करिब १९ अर्ब एक करोड ९४ लाख दाबी रकम थियो ।
मोटर बिमातर्फ दुई हजार २७० दाबीको तीन अर्ब ४४ करोड २६ लाख रुपैयाँ दाबी रकममध्ये ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको छ । यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ १९२ वटा दाबी थियो ।
सो दाबीको ३६ करोड ७९ लाख दाबी रकममध्ये करिब चार करोड ६२ लाख रुपैयाँ र अन्य बिमातर्फ ४० वटा दाबीको करिब ३८ करोड ७२ लाख रुपैयाँ दाबी रकममध्ये २२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्यांक प्राधिकरणमा बिमा कम्पनीहरूले बुझाएका छन् । परिवहन बिमातर्फ १२ वटा दाबीको दाबी रकम एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।

