जेन-जी आन्दोलनपछि झन् नजिकिँदै कांग्रेस-एमाले

काठमाडौं । भदौ २४ बिहान ११ बजेसम्म सत्ता सहकार्य गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध अहिले झन् नजिकिदै गएको छ।

भदौ २३ मा जेन-जी आन्दोलनकारी माथी दमन भएसँगै कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई फिर्ता बोलायो भने २४ गते स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गरे। तर, त्यतिबेला सम्म दर्जनौं आन्दोलनकारी ढलिसकेका थिए भने देश जलिसकेको थियो। भाद्र २३ र २४ को आन्दोलनले सत्ता पल्टाउने मात्रै होइन मन्त्रीदेखि प्रधानमन्त्रीसम्म लखेटिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट र मन्त्रीहरुलाई भैसेपाटी स्थित क्वाटरबाट नेपाली सेनाको हेलिकप्टरले उद्दार गर्नुपरेको थियो।

त्यसैदिन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणाले घरमै पिटाइ खाए। देउवा लगायत दर्जनौं कांग्रेस नेताकार्यकर्ताको घर जल्यो र सिंहदरबार,सर्बोच्च अदालत सहित धेरैजसो सरकारी कार्यालयमा आगो लगाइयो। यो विध्वंसपछि दुई पार्टीबीच आरोपप्रत्यारोप सुरु भयो। त्यसपछि शिर्ष नेता भूमिगत भए भने केही दोस्रो तहका नेताले घटनामा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको दोष देखाएर सम्बन्ध चिस्याए।

दलका नेता लखेटिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनकारी र नेपाली सेनासँगको समन्वयमा अन्तरीम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरे। त्यसलगत्तै संसद विघटन गरेर आगामी फागुन २१ लाई चुनावको मिति घोषणा गरे। त्यसपछि राष्ट्रपतिको कदम र चुनावका बिषयमा दलहरूले आ-आफ्ना प्रतिक्रिया सार्बजनिक गर्दै गए। यो सबै घटनाक्रमले पुनः तत्कालीन सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले नजिक हुने वातावरण बन्दै गएको छ। स्रोतका अनुसार दुबै दलले तिहार र छठपछी संयुक्त बिरोध कार्यक्रम र आन्दोलन गर्ने तयारी गरिरहेका छन् । यदि यो आन्दोलनमा जनताको साथ पाएमा संसद पुनस्थापना र चुनाव बहिष्कार सम्मको साझा एजेन्डा बनाएर अघि बढ्ने बुझिएको छ।

कांग्रेस सभापति देउवा दम्पती स्वास्थलाभ गरिरहेको र एमाले अध्यक्ष ओली पनि नयाँ डेरा लिएर गुन्डुमा रहेकाले दुई नेताको भेटघाट भएको छैन । यद्यपि दुबैले एकाअर्कालाई टेलिफोन मार्फत आगामी रणनीति बारे जानकारी लिनेदिने गरिरहेको एमाले सचिवालयका एक नेताले परेवान्युजलाई बताए। उनका अनुसार बर्तमान सरकारको निर्माण र गतिविधि दुबै शंकास्पद रहेको दुई पार्टीको समान बुझाइ छ। त्यसैगरी फागुन २१ मा निर्वाचन हुननसक्ने र दल र दलका नेताहरूलाई अझै बद्नाम गर्न विभिन्न शक्ति लागिरहेको पनि दुबै नेताको ठहर छ।

पछिल्लो समय सरकारले एमाले अध्यक्ष ओली सहित केही ब्यक्तिको राहदानी रोक्का गर्ने निर्णय गरेकोमा पनि दुबै पार्टीले बिरोध गरिसकेका छन् । त्यसैगरी भ्रष्टाचार र जेन-जी आन्दोलनमा दमन गरेको भन्ने नाममा केही नेताकार्यकर्तालाई दु:ख दिने नियतमा बर्तमान सरकार रहेको आशंका समेत कांग्रेस-एमालेका शिर्ष नेताहरूले गरेका छन् । उनीहरुले यदि सुशीला कार्की नेतृत्वको सरकार प्रतिशोध साँधेर अघि बढेमा त्यसको सशक्त प्रतिकार गर्ने समेत तयारी गरेका छन् । त्यसका लागि आवश्यक परे लाखौं नेताकार्यकर्ता काठमाडौं ल्याउन सकिने उनीहरुको बुझाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय