अक्षतामा रगतको छिर्को र दसैं
वन्दना पोखरेल भण्डारी
हरेक वर्ष जस्तै अहिलेको दसैं दैलोमा आइपुगेको छ। अझ भनौं दसैं सुरु भैसकेको छ। तरपनि मेरो मन,मस्तिष्क र चेतनाले भने त्यो कुरा स्वीकार गर्न सकेको छैन। बाहिर हेर्दा यसपालि पनि रौनक उस्तै देख्छु जुन अघिल्लो वर्ष जस्तै ! म सोच्दैछु मानिसहरुले अस्ति भर्खर भएको नरसंहार एउटा सपना जस्तै ठानेर भुले या सम्झनै चाहन्नन ? मेरो मनमा चाहि यो ठूलो प्रश्न चिन्ह भएर उठेको छ।
जेन-जी आन्दोलनद्वारा सामाजिक संजाल माथिको प्रतिबन्ध अनि धेरै पुरानो जरा गाडेर बसेको भ्रष्टाचार विरुद्धको खबरदारी स्वरुप जुन आन्दोलन सुरु भयो। त्यो सकारात्मक हुँदाहुँदै पनि आन्दोलनमा को-कसले कसरी घुसपैठ गरे वा गराए र हेर्दाहेर्दै ७२ भन्दा बढीको ज्यान गयो। आन्दोलनकै बलमा मै हुँ भन्नेहरू भाग्न तयार भए र देशको सत्ता पल्टियो। भ्रष्टहरुको सात्तो गयो, केहि हदसम्म भ्रष्टाचारको पर्दा पनि उदाङियो। यो सबै कुरा दुई दिनमा संभाव भयो। अब यो उतारचढावको फेरिस्त बताइरहनु नपर्ला।
जेन-जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह हो । अर्को अर्थमा कलिला तपाईं हाम्रा नानिबाबु हुन। एक हिसाबले यो नेतृत्वविहीन आन्दोलन थियो तर यसका उदेश्य समय सापेक्ष भएकै कारण युवाहरूको व्यापक समर्थन थियो । यसरी उदाएको एक आन्दोलनमा सोच्दै नसोचेको रगतको भेल बग्यो जुन अझै सुकेको छैन।
साच्चै भन्नुपर्दा यो एउटा बिर्सन नसकिने घटना हो र यो क्षतिको परिपुर्ति कहिल्यै कसै गरि हुन सक्छ जस्तो लाग्दैन। यो अतुलनीय क्षति हुनु पछाडीका पात्रहरु पुनः टाउको उठाउन खोजिरहेका छन् ।
कतिपयले यहि आन्दोलनको बलमा निर्बाध टाउको उठाइसकेका छन अनि त्यही नसुकेको रगत माथी आफ्ना खुट्टा बजारिरहेका छन। अझै कसले कसरी खेल खेलिरहेका छन् बुझ्न बाकी छ। समयक्रममा सबै छर्लङ्ग हुँदै जानेछ।
त्यसैले यो अवस्थामा घरको दैलोमा आइसकेको दसैं मनाउने जोश जाँगर र उत्साह चाहिँ छैन। देश रोएको यस्तो अवस्थामा के आशिर्वाद लिनको लागि हामी निधार अघि बढाएर टीका थाप्ने ? जुन अक्षतामा ती साना साना भाइ बैनी छोराछोरीको रगतको छिर्का छ ! हामी हाम्रो घरपरिवारमा केही दु:खद घटना घट्यो भने त्यो वर्षको चाढपर्ब मनाउदैनौ, यो हाम्रो परम्परा हो। देशको लागि ज्यान गुमाएका ती जेन-जीहरुको लागि देशले शोक मनाउदै यसपालिको दसैं नमनाउन सकिन्न ? यदि यसो गर्न सकियो भने यो पनि एउटा आन्दोलन हुनेछ जसले देशभक्त लाखौं जन्माउन सक्नेछ।
नेपालले हाल सामना गरिरहेको परिस्थिति नेपालको लागि सहज र खुशी हुने परिवेश पक्कै हैन। अग्ला हिमालहरुको देश, शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल भएको देश, प्राकृतिक सुन्दरता, पर्यटनको अथाह सम्भावना बोकेको हाम्रो देश यी र यस्तै कुराहरूलाई सदुपयोग गर्दै आगामी दिनमा जेन्जी पुस्तासम्मको आवाजलाई अङ्गीकार गरेर देशलाई अगाडि बढाई शान्त, समृद्ध र सुन्दर नेपालको रूपमा विश्वसामु प्रस्तुत गर्ने सुनौलो अवसरका लागि ज्यान गुमाएकाहरुको रगतले मुछिएको टीका लगाएर दसैं मनाउने ख्यालबाट बाहिर आएर शोक मनाऔं र देशको सुन्दर भविस्य को कामना गरौं । जय देश ।

