प्रचण्डलाई ६४ लाखको घडी र छोरीलाई २८ लाखको ब्याग कसले दियो ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठक सकिए लगत्तै ‘म अध्यक्ष रहिन,संयोजक भएँ’ भन्दै दिएको अभिव्यक्ति यतिबेला भाइरल छ।
कतिपयले प्रचण्डले अध्यक्ष छाडेको रुपमा बुझे भने कतिपयले प्रचण्डको अर्को उथलपुथल वा ‘नयाँ चाल’ भनेर कमेन्ट गरिरहेका छन् । लगातार ३६ बर्ष नेतृत्वमा रहेका प्रचण्डले यसभन्दा अगाडि पनि यस्ता ‘चाल’ चलिसकेका छन् । उनी बिशेष महाधिवेशनबाट पुनः अध्यक्ष हुन चाहिरहेको कुरा र त्यसलाई मलजल गर्न ‘प्रचण्ड नभै हुँदैन’ भन्ने कुरालाई आफ्ना निकटहरुबाट अब प्रचार गराउनेछन् भन्ने धेरैले अनुमान गरेका छन् ।
तर, उनको अध्यक्ष हुने, फेरि पार्टीमा एकलौटी गर्ने,सकेसम्म सत्ताकै नेतृत्व गर्ने लोभ स्पष्ट देखिन्छ। यो उनको गुण हो,स्वभाव हो र महत्वाकांक्षा हो। प्रचण्डले अध्यक्ष छाडे त्यसपछि अरु पदाधिकारीको पनि पद गयो, अब प्रचण्ड संयोजक भए उनको ‘मुखिया’ पद कायम भयो अरु पदाधिकारी चाहिँ दुर्गेश थापाको गीत जस्तै …हामी ‘हेरेको हेर्यै’ मात्रै भए।
जेन-जी आन्दोलनले ल्याएको उथलपुथलपछि पुराना नेता र नेतृत्वलाई दबाब आयो र प्रचण्डले अध्यक्ष छाडेको प्रचार गर्न हतारमा माओवादीले केन्द्रीय समिति बैठक बोलायो। कर्मकाण्डी तरिकाले दुई दिनमा सकिएको बैठकमा प्रचण्डले अध्यक्षबाट संयोजक हुँदा जति चतुर्याइँ गर्न सके त्योसँगै एउटा तीखो र पेचिलो प्रश्नको सामना गर्नुपर्यो। यद्यपि त्यसमा उनले कुनै ठोस उत्तर दिएनन् । बैठकमा प्रवासका नेता एवं केन्द्रीय सदस्य लक्ष्मण पन्तले अध्यक्ष प्रचण्डको महँगो घडी र छोरीको ब्यागको कुरामा प्रश्न तेर्साए।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले घडी र ब्यागको स्रोतमाथि प्रश्न उठाउँदै छानबिनको माग पनि गरे। तर, उनले यो कुरामा आफैंले प्रश्न उठाउने हिम्मत गरेनन् र मिडियाको सहारा लिए। मिडियामा आएको र संसदमा सुनिल शर्माले उठाएको प्रश्न भनेर उनले त्यो कुरालाई हलसम्म ल्याउने हिम्मत भने देखाए।

पन्तले प्रचण्डको ६४ लाखको घडी र उनकी छोरी एवं प्रचण्ड सचिवालय संयोजक गङ्गा दाहालको २८ लाखको ब्याग बारे सत्य के हो ? भनेर प्रश्न उठाए पनि आफू जोगिन यदी सत्य होइन भने मिडिया र सांसदविरुद्ध मानहानि मुद्दा दायर गर्न समेत सुझाए।
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज पन्तले प्रश्न उठाएपछि त्यसलाई धेरैले मौन समर्थन गरेपनि खुलेर बोल्न सकेनन् । त्यसैले होला पन्तले पनि उठेर औंला ठड्याउन सकेनन् र बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोत के होला ? भएर प्रश्न तेर्साए।
सो क्रममा पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष थाल्नुपर्ने भन्दै पेस गरेको प्रस्तावमा यदि मिडियामा आएका समाचार गलत हुन् भने समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिए।
‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ,’ पन्तको प्रस्तावमा भनिएको छ, ‘यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मीडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं।’
पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क पनि गरे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ लिएको आरोप लागेको घटना स्मरण गराउँदै नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नहरूको निरूपण हुनैपर्नेमा जोड दिएका थिए।
घडी र ब्याग बाहेक पनि पन्तले माओवादी हेडक्वाटर लक्षित अन्य प्रश्न पनि उठाए। अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने कुरामा समेत पन्तले प्रश्न तेर्साए। तर, कसैले त्यसमा प्रचण्डलाई पुनः प्रश्न सोध्ने र स्पष्ट हुने हिम्मत भने गरेनन् । त्यसैले अहिले अध्यक्षबाट संयोजक भएका प्रचण्ड पुनः संयोजकबाट अध्यक्ष हुनेमा शंका छैन।

