कांग्रेस,एमाले र माओवादी नेताहरू छलफलमा

काठमाडौं । जेन-जी आन्दोलनपछि तितरबितर भएका नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरू छलफलमा जुटेका छन् ।
तीन दलका केही युवा नेताहरूले जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर बहस र छलफल गरेको बुझिएको छ। स्रोतका अनुसार अन्तरीम प्रधानमन्त्री सुशीला कार्कीलाई स्वीकार गर्न सकिएपनी संसद विघटन र नयाँ निर्वाचनका बिषयमा दलहरूको साझा असहमति रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले तुरुन्तै संसद पुनर्स्थापना गर्नुपर्ने र यही संसदले नयाँ गन्तव्य तय गर्ने दलहरू बीच कुराकानी भएको छ। यद्यपि छलफलमा राष्ट्रपति पौडेल र नेपाली सेनाका प्रमुख अशोक राज सिग्देलको भूमिकाको पनि आलोचना भएको छ। उनीहरुले दलका शिर्ष नेतालाई ब्यारेकमा राखेर हतारमा गलत निर्णय लिएको दलहरूको बुझाई छ।
यसैगरी जेन-जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिमा दु:ख व्यक्त गर्दै नेताहरूले मृत्युहुनेलाई सहिद घोषणा र क्षतिपूर्ति तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिएका छन् । सार्बजनिक तथा निजि सम्पत्ति तोडफोड र आगजनीमा कुनैपनी जेन-जी समूह सहभागी नभएको र त्यसमा अन्य शक्तिले फाइदा उठाएको भन्दै भत्सर्ना गरिएको छ।
अबको निकास संसद विघटन गरेर होइन राजनीतिक हिसाबले संविधान र लोकतन्त्रको रक्षा गर्ने हिसाबले खोजिनुपर्ने नेताहरूको जोड छ। कांग्रेस,एमाले र माओवादीका केही युवा नेताहरूले भने पार्टी नेतृत्वका बारेमा समेत नयाँ निर्णय लिनुपर्ने औंल्याएका छन् ।उनीहरुले आ-आफ्ना पार्टी भित्र भावी नेतृत्व बारेमा पनि छलफल गरेर जनताको चित्त बुझ्ने नेतालाई अगाडि ल्याउनुपर्नेमा जोड गरेका छन् ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,नेता प्रदीप पौडेल,चन्द्र भण्डारी,एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे,सचीव योगेश भट्टराई,महेश बर्तौला,माओवादी नेताहरू जनार्दन शर्मा,बर्षमान पुन,माधव सापकोटा लगायतले छलफल सुरु गरेका छन् ।

