मध्यरातमा राष्ट्रपति भेट्न प्रचण्ड कसरी पुगे ?

काठमाडौं । जेन-जी आन्दोलनपछि एकाएक भूमिगत भएका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा जोडिन थालेका छन् । यद्यपि यसमा नेपाली सेनाले सहजीकरण गरिरहेको देखिन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपमहासचिव बर्षमान पुन,नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,नेकपा एमालेका महासचिव शंकर पोख्रेल लगायत नेता राष्ट्रपतिको सम्पर्कमा जोडिएका छन् । स्रोतका अनुसार उनीहरुले संविधान सम्मत नयाँ सरकार गठनका लागि सहयोग गर्ने वचन समेत दिएका छन् ।
बाहिर जेजस्तो हल्ला फैलाउन खोजिएको भएपनी देशको नयाँ सरकार गठनका लागि नेपाली सेनाले पनि सहजीकरण गरिरहेको देखिएको छ। बिहिवार राति पनि सेनाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राष्ट्रपतिसँग भेट गराएको थियो।
त्यस लगत्तै माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुन राष्ट्रपति कार्यालय पुगेका थिए। प्रचण्डलाई सेनाले बाहिर आउन दिएन भनेर माओवादी नेताहरूले भनिरहेका बेला प्रचण्ड भने सेनाकै सहायताले राष्ट्रपति भेट्न पुगेका हुन् । उनले त्यहीँबाट बर्षमान पुनको मोबाइलबाट कांग्रेस एमालेका नेतालाई फोन समेत गरे। तर, फोनमा गगन थापा,विश्वप्रकाश शर्मा र शंकर पोखरेलसँग मात्रै कुरा भयो।
प्रचण्डले भेटेर नै छलफल गर्ने चाहना राखेपनी उनीहरुको बसाइ सेनाले सार्वजनिक गर्न चाहेन र आउने वातावरण पनि बनेन। त्यसपछि टेलिफोन मै केही कुरा भएको स्रोतको भनाइ छ। कुराकानीमा संसद भित्रबाट संविधानको मर्म अनुसार हुने अन्तरिम सरकार गठनमा सघाउने सबैको राय देखियो। तर, संसद विघटन गर्ने पक्षमा कोहि पनि नेताहरू सहमत नभएको स्रोतको भनाइ छ ।
यसैबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने कुरामा सहमति जुटिसकेको छ। यद्यपि संसद विघटन गर्ने कि नगर्ने भन्नेमा वार्ता अड्किएको छ। आज दिउँसो सम्म सरकारको टुंगो लाग्ने स्रोतको भनाइ छ।

