जेनजी भन्छन् : ‘हाम्रो क्रोध, तिम्रो अन्त्य’

काठमाडौं । नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथिति सहित सरकारले युवाहरूलाई नबुझेको भन्दै आज काठमाडौंको माइतीघर र बानेश्वरमा युवाको बिरोध प्रदर्शन भैरहेको छ। यो प्रदर्शन जेनजीको प्रदर्शन हो।

बिहानैदेखि माइतीघर पुगेका युवाहरूको समूहले विभिन्न नारासहितका प्लेकार्ड बोकेर स्वस्फूर्त प्रदर्शन गरिरहेका छन्। सबैभन्दा बढी उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्।युवाले बोकेको प्लेकार्डमा ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा लेखिएको छ।

उनीहरूले प्रत्येक्ष निर्वाचित कार्यकारीको माग समेत गरेका छन् । त्यसैगरी राजनीतिक प्रणाली फेर्नुपर्ने लगायत ‘हामीले तिरेको कर कहाँ छ?’ भनी प्रश्न गरेका छन्। विभिन्न नारा लेखेर सडकमा ओर्लिएको जेनजी पुस्ताले ‘लोभी नेताहरूलाई थप नपोसौँ’ भन्ने आह्वान समेत गरेका छन्।

उनीहरुले भ्रष्टाचारको बिरोध सहित नातावाद र कृपावादका कारण युवाको पलायन भएको औंल्याएका छन् ।देशमा भ्रष्टाचार बढ्दै गएर जनताको छोराछोरीलाई गाह्रो हुने तर, नेताका परिवारका सदस्यको रवाफिलो शैली झन् झन् बढ्दै जाने कुराको पनि विरोध गरेका छन् ।

सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । काठमाडौंमा बृहत् प्रदर्शन गरिरहेको जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै बिराटनगर,पोखरा,बिरगंज र बुटवलमा पनि ठुलो संख्यामा युवाहरू जुटेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरु सडकमै नाचगान गरेर शान्तिपूर्ण विरोधमा रहेका छन् । काठमाडौंको बिरोध माइतीघरबाट बानेश्वर तर्फ अघि बढेपछि केहिबेर प्रहरीसँग धकेलाधकेल भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय