तीज मनाएर केही मन्त्रीको बिदाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज सकिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने जनाउ दिएका छन् । उनले सत्ता साझेदार दलका मुख्य नेतासँग छलफल समेत गरेका छन् ।

प्रधानमन्त्री ओली साउनमै केही मन्त्री फेरबदल गर्ने तयारीमा थिए। तर,सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  केही समय ‘पख्नुस’ भनेपछि प्रधानमन्त्री ओली रोकिए । अब भदौ दोस्रो साता मन्त्री परिषदमा केही पात्र परिवर्तन हुनेछ। त्यसो त उपसभामुख इन्दिरा रानालाई हटाउने अभियान समेत चलेको र राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजिनामा दिएकाले त्यसमा पनि भागबन्डा मिलाउने तयारी छ।

स्रोतका अनुसार उपसभामुख रानालाई हटाउन सकेमा उपसभामुख पद नेपाली कांग्रेसले पाउने पक्का छ। तर, राज्यव्यवस्था समिति सभापतिमा एमालेले दाबी गर्नेछ। त्यसैले मन्त्री परिषद पुनर्गठन अघि यो सबै बिषय प्याकेज मै सहमति गर्ने पक्षमा कांग्रेस र एमाले दुई दल छन् । मन्त्री परिषद पुनर्गठन हुँदा कांग्रेस एमालेका पनि केही मन्त्री हट्ने र नयाँ थपिने छन् ।

उता सत्ता साझेदार भित्रकै दल जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना दुई मन्त्री फिर्ता बोलाउने निर्णय नै गरेको छ।अशोक राई नेतृत्वको जसपाले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा अरुलाई पठाउने निर्णय गरिसकेको छ । आफ्नो पार्टीको निर्णयबारे जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइसकेको छ ।

जसपाले खानेपानी मन्त्री रहेका प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले उक्त मन्त्रालयमा डा.वीरेन्द्र महतो र रञ्जु कुमारी झालाई मन्त्री बनाउने निर्णय पनि गरेको छ ।

पार्टीले फिर्ता बोलाएका यादव र सुडीले यही भदौ ११ गतेभित्र राजीनामा दिने छन् । यसपछि मन्त्रीका लागि नाम सिफारिस भएका महतो र झालाई सरकारमा सहभागी गराउने तयारी जसपाको छ ।

त्यसैगरी अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्रीलाई भेटेर भण्डारीको ठाउँमा सर्बेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने प्रस्ताव समेत गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय