‘द पोइटिक्स अफ रिवेलियन यान्ड फ्युजटिभ एस्सेज’बारे टिप्पणी
प्रा. खगेन्द्रप्रसाद भट्टराई
केही हप्ता अगाडि प्राध्यापक मोहन प्रसाद लोहनीद्वारा लिखित द पोइटिक्स अफ रिवेलियन याण्ड फ्युजटिभ एस्सेज शीर्षकको पुस्तक प्राप्त भयो । यो पुस्तक प्रा. लोहनीले उपहारको रुपमा मलाई उपलब्ध गराएका थिए ।
पुस्तक युगकवि सिद्धिचरण श्रेष्ठका विभिन्न साहित्यिक रचनाहरुको बारेमा प्रा. लोहनीले विभिन्न समयमा लेखेका र पत्रिकामा प्रकाशित १० वटा लेखहरुको संकलन हो । लेखहरु स्तरीय अंग्रेजी भाषामा लेखिएका छन् र उद्धरण गरिएका नेपाली भाषाका कविताका हरफहरुलाई पनि अंग्रेजीमा अनुवाद गरिएको छ । पुस्तकको प्रकाशन कवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठान – जसमा प्रा. लोहनी लामो समयदेखि उपाध्यक्षको रुपमा आवद्ध छन् – ले प्रकाशित गरेको हो ।
पुस्तकमा प्रा. लोहनी लेख्दछन् युगकवि सिद्धिचरण श्रेष्ठमा प्रगाढ राष्ट्रभक्ति थियो, आफ्नो हक अधिकार, स्वतन्त्रता र मानवीय सम्मानका लागि निरंकुश सत्ताको विरुद्ध विद्रोह गर्नुपर्ने कुरामा विश्वास गर्दथे । उनी संकीर्ण जाति प्रथाको विरोध गर्दथे र आत्मिक प्रेमलाई महत्व दिन्थे । उनको मानवता र विश्वशान्ति माथि अटल विश्वास थियो । महिलाको सम्मान र उत्थान चाहन्थे । उनको प्रकृति प्रेम विछट्टको थियो; उनी प्रकृतिका पुजारी थिए । प्रा. लोहनी भन्दछन् जीवनको अन्त्यतिर कविले सान्सारिक मोहबाट मुक्त भई आध्यात्मिक सिद्धि प्राप्त गरे ।
कवि सिद्धिचरण श्रेष्ठ राणाको शासन कालमा जन्मिएका थिए । हुर्कंदै जाँदा उनले राणा शासनको क्रूरता र अत्याचार देखे । राणाहरु अत्यन्त निर्दयी थिए र उनीहरुले नागरिकहरुलाई उनीहरुको नैसर्गिक अधिकारबाट वंचित गरेका थिए । उनीहरुको हुकुमी शासन थियो । नागरिकहरु स्वतन्त्र थिएनन् । यी सबै कुरा देखेपछि कविमा विद्रोहको भावना उत्पन्न भयो र आफ्ना कविताका माध्यमद्वारा राणाहरुको अत्याचारबाट देशलाई मुक्त गर्न विद्रोहका लागि युवाहरुलाई प्रोत्साहन गरे ।
उनी युवाहरुको प्रेरणाको स्रोत भए । युवाहरु आफ्नो हक अधिकारका लागि सजग भए र आन्दोलित भए । कवि र गणेशमान सिंह लगायत केही युवाहरुलाई विरोध गरे वापत राणाहरुले जेलमा कठोर यातना दिए । गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथ चन्दलाई फांसी दिएर विद्रोहलाई दवाउन खोजियो । युगकविलाई १८ वर्षको जेल सजाय तोकियो । मंगलमान खण्ड काव्य सिद्धिचरण श्रेष्ठको सबभन्दा उत्कृष्ट कृति मानिन्छ ।
उक्त खण्डकाव्यका नायक मंगलमान क्रान्तिकारी युवाका प्रतिनिधि हुन् । कविले उक्त कृति मार्फत न्याय र हक अधिकारका लागि युवाहरुलाई दिएको संदेशलाई प्राध्यापक लोहनीले यसरी उद्धृत गरेका छन् :
So easily can’t your rights be regained.
Struggle you must and resort you must to revolution
Revolution alone, witnessed by all history,
Restores rights.
कविले न्याय र सत्यको लागि नेपालमा मात्र नभई संसारमा नै युवाहरुले संघर्ष गर्नुपर्ने कुरा उल्लेख छ । संदेश विश्वव्यापी छ ।
प्राध्यापक लोहनी भन्द्छन् युगकविको अर्को खण्डकाव्य आसुँ मा पनि मंगलमानमा झै विद्रोहको स्वर घन्किन्छ । राणा शासनद्वारा सताइएका नेपालीहरुको पीडालाई मानवीय समस्याका रुपमा उल्लेख गरिएको छ । संसारका धेरै देशमा कमजोरमाथि गरिएको अन्याय र अत्याचारलाई सभ्यताको नाउँ दिइएको छ । प्राध्यापक लोहनी कविताका केही हरफहरुलाई यसरी उद्धृत गर्दछन् :
To speak untruth is called gentleness.
The society today is spoilt
The result of most callous customs and practices
कविले निरंकुश व्यवस्थामा गरीव र दुःखीहरुको मार्मिक चित्र उतारेको कुरा प्रा.लोहनी यसरी भन्दछन् :
Empty stomach and empty heart
What a system now prevails
Living like a beast and dying like a beast
What has happened to humanity today?
युगकविमा प्रगाढ राष्ट्रप्रेम थियो । उनी राष्ट्रको गौरव गीत गाएर कहिल्यै थाक्दैन थिए । उनको राष्ट्रप्रेमको बारेमा प्राध्यापक लोहनीले उनको ‘नेपाल’ शीर्षक कविताबाट निम्न पंक्तिहरु उद्धृत गरेका छन् :
The more I see this country
The more I long to see it
Ever strong is my desire
To love it and sing its glory
प्रा. लोहनीले युग कविले रचना गरेका कविताहरु – कोपिला, मेरो प्रतिविम्व, कुहिरो र घाम आदि; खण्डकाव्यहरु – मंगलमान, ज्यानमारा साँइलो, उर्वशी, आँसु, र जुनकिरी ऐतिहासिक सन्दर्भमा लेखिएको भीमसेन थापा; र गीती नाटक बलिवध को बारेमा पनि समालोचनात्मक विश्लेषण गरेका छन् । युद्ध र शान्तिलाई सामाजिक खण्डकाव्यको रुपमा लिइएको छ ।
अति प्रसिद्ध कविता मेरो प्यारो ओखलढुङ्गा, वर्षा, सुन्दरीजल, वसन्त, हिमाल, प्रभातकालीन किरण, हिमालको दृष्य, जुनेली, रातमा शीर्षकका कविताहरुले कविको प्रकृति प्रेम दर्शाउँछन् भन्छन् प्राध्यापक लोहनी ।
कवि सिद्धिचरण श्रेष्ठले आफ्नो युगको प्रतिनिधित्व गरे र उनले आफ्ना कृतिको माध्यमबाट धेरैलाई जागरुक र प्रभावित पारे । उनी नेपाली साहित्यका एक अत्यन्तै प्रसिद्ध कवि हुन् । प्रा. लोहनी भन्दछन् गणेशमान सिंह, प्रा. यदुनाथ खनाल, डा. ईश्वर बराल, केदारमान व्यथित, डा. जयराज आचार्यहरु उनीबाट धेरै प्रभावित भएका थिए र उनीहरुले युगकविको उच्च मूल्यांकन गरेका छन् ।
युग कविको तुलना कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मी प्रसाद देवकोटा र नाटक सम्राट वालकृष्ण समसँग गरिएको छ । राजनीतिक क्रान्तिको संदर्भमा कवि सिद्धिचरण श्रेष्ठ सबैभन्दा अग्र स्थानमा रहेको ठान्दछन् प्रा. लोहनी ।
यसरी प्रा. लोहनीका अनुसार युगकवि सिद्धिचरण श्रेष्ठ बहुमुखी प्रतिमा भएका कवि हुन् । उनी अन्यायको विरुद्धमा लडेर मात्रै सच्चा शान्ति प्राप्त गर्न सकिन्छ भन्दछन् । अहिंसा, मानवको कल्याण र विश्वशान्तिको संदेश दिन्छन् । सत्य र सामाजिक न्यायको पक्षमा उभिन्छन् । दुःखी र कमजोरका आवाज हुन् । पछि उनमा उच्च आध्यात्मिक चेतना प्रष्फुटन भएको पाइन्छ ।
पुस्तक ४२ पृष्ठको छ । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार वैरागी काँइलाले भूमिका लेखेका छन् । पुस्तकको अन्त्यमा प्रा. लोहनीले युगकविको बारे एक सुन्दर कविता लेखेका छन् । कविको बारेमा कविता लेखिएको छ ।
नयाँ पुस्ताका लागि यो पुस्तक अत्यन्त उपयोगी हुनेछ । पुस्तकले धेरै महत्वपूर्ण र नयाँ कुराको जानकारी गराउँदछ । पुस्तकमा केही कुरा दोहोरिएका छन्; विभिन्न समयमा लेखिएका लेखहरु भएकाले त्यस्तो हुन गएको होला । अर्को संस्करणमा प्रेसले गरेका सामान्य कमीहरु सच्चिएर आउनेछ भन्ने आशा गर्दछु ।
प्राध्यापक लोहनीले युगकवि सिद्धिचरण श्रेष्ठका विभिन्न पक्षहरुलाई केलाएर पाठक सामु यति महत्वपूर्ण पुस्तक उपलब्ध गराएर ठूलो गुन लगाएका छन् । प्रा. लोहनी विद्वता र अनुभवले खारिएका अंग्रेजी विषयका प्राध्यापक हुन् । उनले लामो समय प्राध्यापन गरेर विताए । कुटनीतिक क्षेत्रमा पनि उनको राम्रो अनुभव छ; नेपाल विश्व सम्बन्ध परिषद्मा अध्यक्ष भएर काम गरेको अनुभव छ ।
८३ वर्षको उमेरमा पनि उनको क्रियाशीलता देख्दा प्रेरणा मिल्दछ । उनको अझ क्रियाशील जीवन र सुस्वास्थ्यको कामना गर्दछु ।

