वामपन्थी एकता : यता न उता !

शिरज शर्मा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक बैठक,प्रशिक्षण र खुला कार्यक्रममा वामपन्थी एकताको कुरा सधैं गर्छन् । उनले एकताको कुरा गरिरहेका बेला अर्को कुनै वामपन्थी दलले त्यो कुरामा ‘हो’ भनेका छैनन् । बरु प्रचण्डले बोलेका कुरामा केहीले ‘तत्काल संभावना छैन’ चाहिँ भन्ने गरेका छन् ।

आफ्नै पार्टीलाई एकताबद्ध बनाएर लैजान कठिन भैरहेको बेलामा वामपन्थी एकताको कुरा पत्यार लाग्दो देखिन्न। खासगरी प्रचण्डले दुई किसिमको वामपन्थी एकता चाहेको देखिन्छ। पहिलो भनेको माओवादी पार्टीकै पूर्व नेताहरूलाई एकतामा ल्याउने र दोस्रो अन्य वामपन्थी एवं समाजवादी दलालाई पनि समेट्ने ।

तर,यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने माओवादीका पूर्व नेताहरू डा.बाबुराम भट्टराई,मोहन बैद्द,सिपि गजुरेल, गोपाल किराँती, प्रभु साह, विश्वभक्त दुलाल ‘आहुती’ लगायतले प्रचण्डले भनेजस्तो माओवादी एकताको कुरामा मत्लब नै गरेका छैनन् । अर्थात प्रचण्डकै व्यबहारबाट आजित भएर पार्टी छाडेका उनीहरु फेरि प्रचण्डसँग नजिक हुनै चाहँदैनन् । आजसम्मको अवस्था हेर्दा यी नेताले प्रचण्डको कुरामा विश्वास गरिहाल्ने र पार्टी एकता हुने कुनै संभावना छैन।

माओवादीबाट नै विभाजन भएर बनेको नेकपा अर्थात नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको पार्टी र त्यहीँबाट पनि बिभाजित भएको धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा (बहुमत) ले पनि प्रचण्डले भनेजस्तो एकता नहुने स्पष्ट गरिसकेका छन् । प्रचण्डले एकताको कुरा गर्दा उनीहरुको तत्काल ‘हुँदैन/होईन’ भन्ने प्रतिक्रिया आइसकेको हुन्छ। त्यसैले पूर्व माओवादी घटकहरु समेटिएको एकता तत्काल हुने देखिन्न।

अब बाँकी रह्यो दोस्रो प्रयास । यसमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी),मोहनबिक्रम सिंह नेतृत्वको नेकपा (मसाल),अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी,उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अनि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले छन् । त्यसमा पनि एमालेसँग एकता भएर पनि नटिकेको कुरा सबैलाई जगजाहेर छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको पछिल्ला अभिव्यक्ति सुन्दा र एक अर्का प्रतिको व्यबहार हेर्दा यी दुईबीच एकताको कुनै संभावना देखिन्न। नेकपा मसालसँग पनि माओवादीको एकता कुनैपनी अवस्थामा हुँदैन।

उपेन्द्र यादव र अशोक राई नेतृत्वका जसपा नामको पार्टी पनि प्रचण्डसँग भन्दा एमालेसँग बढी नजिक छन् । एकता नै गर्नुपर्ने अवस्थामा अशोक राईले एमाले रोज्न सक्छन् तर,प्रचण्डसँग एकता गर्दैनन् । उपेन्द्रको कुरा पनि त्यै हो । तराई मधेस बाहेक अन्त संगठन बनाउन नसक्ने भएपछि उपेन्द्रले अर्को पार्टीमा एकता गर्ने तत्काल सोचेको देखिन्न।

अब माधवकुमार नेपाल नेतृत्वको नेकपा एस भित्र पनि माओवादीसँग एकताको कुरा बेला बखत उठेपनी निर्णय हुने देखिन्न। त्यहाँ भित्रको किचलो र आन्तरिक शक्ति सन्तुलन अनि संघर्षले त्यसको छनक दिन्छ। सम्मानित नेता झलनाथ खनाल पक्ष माओवादीसँग एकता गर्ने कुरा सुन्नै चाहदैनन् । महासचिव घनश्याम भुषाल सहित प्रकाश ज्वाला,रामकुमारी झाक्रीहरु माओवादीसँग एकताको कुरा ठाडै अस्विकार गर्छन् । त्यसमाथि अहिले वामदेव गौतमलाई भित्र्याएको नेकपा एसले त्यहीँ भित्रको किचलो मिलाउन कठिन छ।

प्रचण्डले एकताको लागी अलिबढी जोड गरेको चाहिँ नेकपा एस र विप्लव नेतृत्वको नेकपा नै हो । तर,विप्लवका प्रबक्ता खड्ग विश्वकर्माले ‘त्यो संभव छैन’ भनिसकेका छन् भने नेकपा एसभित्र पनि एकताको कुरा बैठकमा उठाउनै गाह्रो छ।पतन्जली जग्गा प्रकरणमा मुछिएर अदालतले धरौटी लिएर छाडेका अध्यक्ष माधवकुमार नेपाल प्रचण्डसँग अलिबढी नजिक चाहिँ छन् तर,उनले एकताको कुरा पार्टी बैठकमा राख्न सकेकै छैनन् । नेकपा एसभित्रका धेरैजसो नेताकार्यकर्ताको कुरा पनि माओवादीसँग एकता गर्न एमाले बिभाजन गरेको होइन भन्ने नै छ। एकता नै गर्नुपरेमा बरु फर्किएर एमालेसँग नै गर्ने तर,माओवादीसँग नगर्ने धेरैको तर्क छ।

यसर्थ,बाहिर जति नै वामपन्थी एकताको कुरा गरेपनी माओवादी र माओवादी नेतृत्वसँग एकता नै गरेर अगाडि बढ्ने अवस्थामा कुनैपनी वामपन्थी वा अन्य दल तयार भएको देखिदैन । माओवादी अध्यक्ष प्रचण्डले एकताको ‘सुगा रटाइ’ गर्नुको कुनै स्वार्थ होला वा नहोला त्यो उनैले जान्ने कुरा हो। तर, अन्य दलका नेताले चाहिँ यसमा प्रचण्डको कुनै न कुनै स्वार्थ देखिरहेका छन् । त्यसैले तत्कालको लागी वामपन्थी एकता न यता न उताको अवस्थामा देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...