पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रापछि पुगिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।

भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । लगातारको यात्रापछि विश्राम गर्नका लागि यहाँ ‘गोठबास’ (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समयअघिसम्म पर्यटकले विश्राम गर्न भेडीगोठबाहेक अरु कुनै संरचना पाउँदैनथे ।

गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । हाल दैनिक औसतमा एक सयजति आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जान थालेका छन् । विशेष गरी बर्खामा हरियाली, हिमश्रृङ्खलाको दृश्य र हजारौँ भेडाका बथान हेर्न मिल्ने भएकाले आकर्षण बढेको हो ।

पहिले यहाँ पुग्ने पर्यटकले भेडीगोठमै रात बिताउनुपर्ने बाध्यता थियो, जहाँ चिसोका कारण बिरामी पर्नेसम्म हुन्थ्यो । अहिले गोठस्टे सञ्चालनमा आएपछि त्यो समस्या कम भएको छ । गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याएका छन् ।

थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालन गरेका छन् । दुवैको गोठस्टे नजिकै छ । उनीहरुले ढोरपाटन उपत्यकाबाट आउने पर्यटकको स्वागत गर्छन् । घण्टौँको यात्रापछि विश्राम गर्न यी गोठस्टे पर्यटकका लागि सहज स्थल बनेका छन् । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रृङ्खला र गोठालाको जीवनशैली अनुभूत गर्न सक्छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटकको सङ्ख्या बढेको थापाले बताए । पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार बढेसँगै पर्यटकको चाप पनि बढेको उनले बताए । गोठस्टे सञ्चालन गर्नुको उद्देश्य क्षेत्रको प्रवर्द्धन र पर्यटक सेवा रहेको उनले बताए । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडो आदिको परिकार उपलब्ध गराइने उनले बताए ।

“बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही वर्षदेखि मात्रै यहाँ पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टे सुरु गरे, यसवर्ष अर्को साथीले पनि सुरु गरेका छन्,” उनले भने, “पहिले पर्यटकले गोठालासँग गोठमै बस्नुपर्थ्यो, खाना र सुत्न समस्या थियो, अहिले ती समस्या समाधान गरेका छौँ ।”

महेन्द्र घर्ती मगरले गत असारको पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गरेका हुन् । उनी ढोरपाटन उपत्यकामा होटल पनि सञ्चालन गर्दै आएका छन् । गोठस्टे सुरु गरेपछि बास बस्न आउने पर्यटक बढेको उनले बताए ।

गोठस्टेमा आउने पर्यटकबाट एक रातको बास, खाना र खाजासहित रु २,५०० शुल्क लिइने उनले जानकारी दिए । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको पनि उनले बताए ।

“बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडक नहुँदा पैदलै आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, ठाउँ उच्च उचाइमा पर्ने भएकाले लेक लागेर बिरामी पर्नेसमेत सम्भावना हुन्छ,” उनले बताए, “स्वास्थ्यको ख्याल गर्नुपर्छ, हामीले सामान्य प्राथमिक उपचारको व्यवस्था गरेका छौँ, अब पर्यटकलाई गोठमै बस्नुपर्ने अवस्था छैन ।”

गर्पाछेडाबाट फागुने, टीकाधारजस्ता स्थानमा जान सकिन्छ । गोठस्टेले बसाइँ र घुमफिरलाई सहज बनाएको पोखरा महानगरपालिका–७ का मुकेश सुब्बाले बताए । चार वर्षअघि बुकीपाटन आएर गोठमै बसेको अनुभव सुनाउँदै उनले अहिले भने गोठस्टेमा खान बस्न सहज भएको बताए । होटलजस्तो सुविधा नभए पनि स्थानीय स्वाद र आतिथ्यता पाइने उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय