कृष्ण मन्दिर : आस्था र महत्त्व

बुद्धिमान महर्जन

मल्ल कालका राजाहरूको वास्तविक इतिहास हामीहरूले स्कुलको किताबमा पढेका छौं । त्यसै मध्यका मल्ल राजा र पाटन दरबारको बारेमा हामी स्वर्गीय डा.सत्यमोहन जोशीको पुस्तकहरूमा पनि धेरै कुरा पढन पाउछौं ।

मैले बाल्यकालदेखि देखेको श्रीकृष्ण मन्दिरमा महादेवको पनि स्थान भएको जानकारी पाटनका ७३ वर्षिय उत्तम प्रसाद श्रेष्ठज्यूसँगको छोटो भेटमा थाहा पाएको थिए । मनभित्रको कौतुहलता मेटाउन र आफ्नो आँखाले वास्तविक कुरा देख्न म यस मन्दिरको सिँढि चढी माथी गएको थिए।

शनिवारको दिन,साँझको समय थियो । मन्दिर प्राङ्गणमा मानिसहरूको भिड रमाईलै देखिन्थ्यो । श्रीकृष्ण भगवानको दर्शनमा भक्तजनहरू एकपछी अर्को गर्दै मन्दिरमा उक्लदैं थिए । कसै-कसैले भगवानसंग आत्मा लाभ लिइसकेका होलान ! म मन्दिरको माथिल्लो तलामा रहेको भनिएको महादेवको स्थान खोज्दै थिए । तर देखिन । सोही मन्दिरमा कृष्ण भगवानको ढोका छेउमा बस्ने एक महिला दिदिलाई महादेव मन्दिरको बारेमा सोधे । मेरो आग्रहमा उहाँले एकछिन उठेर मलाई श्रीकृष्ण भगवानको पछिल्लो तिर रहेको मन्दिर माथि जाने सानो ढोका देखाउदै भन्नुभयो । यही हो, मन्दिरको माथि जाने बाटो । र माथी मन्दिरमा जाने ढोका विशेष पूजाको लागि मात्र खोलिने जानकारी पनि दिनुभयो ।

मन्दिर माथि जान नमिल्ने गरि ढोकामा ताला लगाईएको हुनाले मेरो आँखाले सरसर्ती भ्याएसम्मको दृष्टि पुराए । माथी जान बनाईएको भर्‍याङ, ढोकाको छड्के कुनामा सानो जस्तो देखिदै थियो । मैले ती दिदिलाई पुन:सोधे । साउनको महिना छ ! त्यसैले सोमबार खुल्छ कि ? उहाँले भन्नुभयो- ‘खुल्न सक्छ ! बिहान चाँडै आउनुस्’
ती दिदिको कुरालाई लिएर म र मेरो श्रीमती सोमबार बिहान मन्दिर पुग्यौं । श्रीकृष्ण भगवानको निष्ठपूजा हुँदै थियो । मैले ती  दिदिलाई आफू आएको जानकारी गरे । पुजारी एकै भएका कारण हामीले केही समय प्रतीक्षा गरेपछि पुजारीको पछि लागि हामी महादेवको दर्शन र पूजाको लागि अघि बड्यौं। साथमा अन्य भक्तजन पनि मनमा खुसी व्यक्त गर्दै हाम्रो पछि महादेवको दर्शनका लागि माथि जान पाए ।

पुजारीसँगै भएको मौकामा हामी र अन्यले पनि साथमा पूजा आराधना गर्‍यौं । सबैको एउटै भनाई थियो । ‘आज महादेवको पनि दर्शन पाईयो।’

आफ्नो जिन्दगीले भोगेको आधा उमेर सम्म नदेखिएका भगवानलाई देख्न पाउनु मेरो सौंभाग्यको कुरा थियो । मनमा चंचलताहरू बड्दै थिए । मैले ती दिदिलाई मन्दिरको बारेमा सोधे ।

यो मन्दिर किन यसरी बनाइएको होला ?

ती दिदिले इतिहासलाई सम्झदै आफूले जाने बुझेका कुरा मलाई यसरी सुनाउनु भयो:-‘मल्लकालका राजा सिद्धिनरसिंहको पालामा बनेको मन्दिर हो । सिद्धिनरसिंह राजा कृष्णका भक्त थिए । मनमा भएको कुरा आफ्नै भने झैँ, कृष्ण भगवानलाई आफ्नै मनमा राखेर उहाँले यस दरबार क्ष्रेत्रभित्र महादेवको मन्दिर नभएका कारण एउटा भव्य मन्दिर बनाउने संकल्प गरी सबैको सल्लाह अनुसार मन्दिर बनाउने तयारी गर्नु भयो।

नेपाली इतिहासमा लेखिए अनुसार मल्लकालका विख्यात राजा सिद्धिनरसिंह खानाको सौखिन थिए। एक मुठ्ठीदेखी एक मुरी अन्न सम्म खाने गरेको उहाँको इतिहास छ । महादेवको मन्दिर बनाउन भारद्धारहरूद्धारा सुन्दर ढुङ्गाहरू ल्याई त्यसलाई विभिन्न आकृतिमा परिणत गरियो । यसैबेला एक रात राजाको सपनामा श्रीकृष्ण भगवान आएर भन्नू भएछ :- ‘हे राजन, तिमी मेरो भक्त हौं । मलाई जमिनमूनि राखेर तिमी महादेवको भव्य महल बनाउँदै छौ । कतै तिमीले मलाई बिर्सने त होइनौ ? दुईजनाको वार्तालाप पछि राजाले बिर्सन नसक्ने कुरामा प्रत्यक्ष भेटको आग्रह गर्दा श्रीकृष्ण भगवानले म तिम्रो दरबारको पछाडी बगैंचाको जमिनमूनि छु । मलाई पनि एउटा स्थान दिएर राख । सम्भवत: महादेवलाई म माथि राखेर मलाई तल राखे पनि हुन्छ । म अब यो जमिनमूनि मात्र कति बस्ने ?’

श्रीकृष्णको यो सपनाको वाणीले राजा झस्किए। अनि भारद्धारलाई लिएर दरबार पछाडी रहेको जमीन खन्न लगाए ।सच्चै श्रीकृष्ण भगवानको सुन्दर मुर्ती भेटियो । राजा सिद्धिनरसिंहले साक्षात भगवान पाउदाको खुसी बेग्लै थियो होला ! भगवान श्रीकृष्णको मुर्तीलाई सुरक्षित गरी दरबारमा रहेका सबै भारद्धारहरूको सल्लाह र श्रीकृष्णको भनाईमा मन्दिर अब दुई खण्डको उचाईमा बनाउनु पर्ने र महादेव प्रति गरेको संकल्पले माथिल्लो स्थानमा महादेव र तलको स्थानमा श्रीकृष्णको मुर्ती राख्ने सल्लाह भयो । र यसरी आज एउटै मन्दिरमा दुई भगवानको मुर्ती रहेको यो पहिलो देवालय बन्न पुग्यो।

ती दिदीका कुरा सुनेर म पनि धेरै आनन्दीत भएँ। भक्तजनको भिड बढ्दै गएपछि ती दिदी व्यस्त हुनुभयो । मैले ती दिदिबाट आफूले नपढेका केही इतिहास बुझ्न पाए । ढुङ्गै ढुङ्गाले बनेको यो कृष्ण मन्दिर ललितपुरको सबैभन्दा पहिलो र ऐतिहासिक मानिन्छ । भक्तजनहरूले भगवान श्रीकृष्णसँग आत्मा संंवाद गर्न पाएका छन् । तर कसैले बोलाउँदा नजिककाले ‘हँ’ भने जस्तै यो मन्दिरमा भक्तजनहरू जति आएतापनि श्रीकृष्ण भगवान प्रति मात्र भक्तजनको झुकाब बड्दो देखिन्छ ।

भक्तजनको लागि श्रीकृष्ण भगवानको ढोका हमेशा खुल्ला देखिन्छ । तर महादेवको नाममा शिलान्यास भएर महादेवको लिङ्ग स्थापना भएतापनि महादेव मन्दिरको ढोका विशेष पूजामा मात्र खोलिनुको कारणले महादेव र भक्तजनहरूबीचको आत्मीय संबादबाट महादेवलाई टाढा राखिएको किन होला ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ।

समग्रमा भन्नू पर्दा छिमेकी देश भारत लगायत विश्वका अन्य मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरू पनि यस मन्दिरको सिँढि चडेर आफूले सकेको ५,१०,२०,५० र १०० का भेटी चडाएर आफ्नो बाटो लागेको देखेको थिए । सायद उनीहरूलाई पनि यस मन्दिरभित्र महादेवको लिङ्ग रहेको जानकारी कतैबाट पाएका भए झन् महादेव भक्तले कति आदर गर्थे होलान् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय