मनको कुरा : ‘हायु परिवारका १६ जना पोखरामा भेटिएपछि…’

गोविन्दराज केसी

हुन त हाम्रो समाज हरेको जसो कुरालाई मजाकमा लिन्छ तर हायु परिवारले राती १ बजे किन घर छोडेर हिंडे होलान? यसको सामाजिक, साँस्कृतिक र आर्थिक मानक कस्तो होला? घरिघरी सोच्न बाध्य बनाउँछ।

१६ जनाको परिवार एक आखर कसैलाई नभनी बेपत्ता हुनु वा थातथलो छोडेर हिंडनु उनिहरु भित्र लुकेर बसेको भयानक साँस्कृतिक डर, त्रास र चिन्ताको प्रतिविम्बन पनि हो।

हिंडने बेला घरनै पोलेर हिंडनु, पाँच केजी जस्तो काँचो मासु छोडनु, रातो अबिरको रेखा बाँध्नु र राती १ बजे हिंडनुले उनिहरु त्यो थातथलोमा फेरि नफर्कने कसम खाएको देखिन्छ। हाम्रो समाजमा यस्तो खाले कर्मका आ-अफ्नै परिभाषा छनहोला।

अैंचोपैंचो, पालोपर्म, हेलोहाई, सुखदुखका मन साटन समेत तलमाथी घर नभएपछि एकान्त जंगलमा बस्नुपर्दा मान्छेका मनले कस्तो बेग हान्छ होला ? आफैंलाई एक पटक त्यो ठाउँमा उभ्याएर हेरौं त।

जंगलको बीचमा एक्लो घर, त्यसमा भुतप्रेत, बोक्सी, पिचासको अन्धविस्वासले पुरै परिवारका सदस्य कति तडपिंदा हुन। हरेकजसो राती उनिहरुलाई नर्क जस्तो लाग्थ्यो होला। मुसाले वा चराचुरुङ्गीले छसक्क पार्दा समेत भुतप्रेतले तर्सएको सम्झन्थे होला। उनिहरुलाई पलपलमा यस्तो नर्कबाट मुक्ती चाहिएको पनि हुनसक्थ्यो।

परिवारका कोहि सदस्य विरामी परिहाल्दा एक्लो समसानघाट जस्तो एकान्त घरमा कस्तो हुन्छ होला? झन घरमुलीनै मरेर जंगलमा भेटिएपछिको सामाजिक अन्धविश्वासले हरेक सदस्यहरुमा कस्तो मानसिकता विकसित भएको थियो होला?

विदेश गएका सदस्यहरुले संसार देखिसकेका थिए। संसारले यत्रो फडको मारिसक्दा आफ्ना परिवार अनकन्टार जंगलमा आतंकित जीवन विताइरहेको पीडा उनिहरुमा प्रबल हुँदै गैइरहेको थियो। अब त्यो अनकन्टार ठाउँबाट निस्कनुपर्छ भन्ने उनिहरुलाई लागेको हुनुपर्छ। संघर्ष गरे पनि बाहिर निस्केर गर्नुपर्छ। छोराछोरीलाई पढाउनुपर्छ। अलि फराकिलो बाटो खडा गर्नुपर्छ। शहर झर्नुपर्छ, आधा पेटा खाएर वा ज्यामी वा ज्यालादारी गरेर पनि जिउनु पर्छ भनेर पुरै परिवार निस्कियो।

सरकारी भत्ताबाट आएको १ लाख ८० हजार र वैदेशिक रोजगारबाट फर्केकाहरुले ल्याएको केही रकम जोहो गरेर हायु परिवारले हिसावकिताव गरे। यति भएपछी केही महिना जिउन सकिन्छ र ज्यामी काम गरेर भपनि बालबच्चालाई नयाँ जीवन दिनसकिन्छ भनेर रातको एक बजेको साहित निकाले।

अनि हायु परिवारले नयाँ जिवनको खोजीमा गाउँ छोडे।

त्यसैले हामीले विकासको मोडल फेर्न जरुरी छ। यो एउटा प्रतिनिधीमुलक घटना हो। पहाड तथा हिमालका गाउँभरि यस्ता कैयन घटना वा पिडादायक अवस्थाहरु छन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय