अस्थिरताको ओखती,प्रत्येक्ष निर्वाचित राष्ट्रपति

काठमाडौं । नेसपा(नयाँ शक्ति) पार्टीले गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित खबरदारी गर्दै ज्ञापन पत्र बुझाएको छ।
पार्टीले प्रत्येक्ष निर्वाचित राष्ट्रपति,भ्रष्टाचारको अन्त्य र पुर्ण समानुपातिक संसद लगायत माग राख्दै बिहान ११ बजे सबै जिल्लाको प्रशासन कार्यालय पुगेर धर्ना दिनुको साथै ज्ञापन-पत्र बुझाईएको प्रदेश संयोजक नेत्र चापागाईंले बताए।
‘अस्थिरताको ओखती,प्रत्येक्ष निर्वाचित राष्ट्रपति’,भ्रष्टाचारी सिंहदरबार र बालुवाटारमा अख्तियार कहाँ छ ? भन्ने टोपी लगाएर उनीहरु धर्नामा बसेका थिए। त्यसैगरी ज्ञापन-पत्रमा पोखरा विमानस्थल निर्माणमा भएको अनियमितताबारे, बुढिगण्डकी जलाशययुक्त आयोजना निर्माण,पोखरा बसपार्क निर्माण,मध्यपहाडी लोकमार्ग छिटो निर्माण लगायत कुरा पनि उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा के छ ?
मन्त्रिपरिषदको कार्यालय,
सिंहदरबार, काठमाडौं ।
मार्फत
जिल्ला प्रशासन कार्यालय, कास्की
महोदय,
राजनीतिक पार्टी तत्कालीन समाजका अन्तरविरोधहरू समाधान गर्ने साधन हो। नेपालका पुराना राजनीतिक शक्तिहरू हिजोकै सोंच, शैली, स्कुलिङ र पूर्वाग्रहवाट चलिरहेका छन् । बदलिदै गएको नयाँ युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व गर्न सक्दैन, विचार युग सापेक्षीत हुन्छ । तसर्थ हाम्रो युगको विचार हामी आफैले बनाउनु पर्दछ। सबै पुराना पार्टी र शक्तिहरू देशको विकास गर्न र सुशासन कायम गर्न असफल मात्र होइन निकम्मा भइसकेका छन् । लोकतन्त्र सिमित र औपचारिक बन्दै गएको छ । लोकतन्त्रको नाममा दलतन्त्र दलतन्त्रको नाममा नेतातन्त्र, नेतातन्त्रको नाममा शीर्षनेताको सिन्डिकेट जताततै हावी भएको छ ।
भ्रष्टाचारको विगविगी सवत्र व्याप्त छ । वार्षिक पचासौं लाख युवाहरू रोजगारीको खोजीमा विदेशिन वाध्य छन् । सार्वभौम नागरिकहरू निरीह, रमिते र आजित हुँदै गइरहेका छन् । यस्तो अवस्थामा देशलाई नेतृत्व दिन सक्ने दुरगामी सोंच, उन्नत संस्कार, प्रभावकारी कार्यशैली भएको वैकल्पिक राजनितिक शक्ति अनिवार्य भएको छ । त्यसैले युगको आवश्यकता बोध हुने गरी हामीले “नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)” नेपालकै वैकल्पिक राजनितिक शक्तिको रूपमा निर्माण गरिरहेका छौ ।
आउनुहोस अबको आवश्यकतालाई सम्बोधन गर्न सबै एकठाउँमा जुटौं । संविधान संशोधन मार्फत देशलाई अग्रगमनमा लैजाऊँ ।
हामी के चाहान्छौ
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री
वहुसदस्यीय समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली
सामुदायिकमा प्रत्यक्ष, संसदमा पूर्ण समानुपातिक निर्वाचित प्रणाली
विज्ञता र दक्षतका आधारमा मन्त्रिमण्डल
राइट टु रिजेक्ट र प्रत्याव्हानको अधिकार (राइट टु रिकल)
सुशासन र सदाचार
सबैका लागि समृद्धि, समानुपातिक र समावेशी विकास
संविधानले व्यवस्था गरेका मौलिक हकको (भाग ३. धारा १६-४८) अनिवार्य र निशर्त कार्यान्वयन
उच्च पदस्थ पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानविन र शक्तिशाली जनलोकपाल गठन तथा जनमैत्री प्रविधियुक्त कर्मचारी प्रशासन
न्यायालयको पुर्नसंरचना
संवैधानिक निकायमा दलिय भागबन्डाको अन्त्य
आत्मनिर्भर अर्थतन्त्र मार्फत स्वरोजगारमा जोड
विदेशमा रहेको नेपालीहरुको समेत मत अधिकार सुनिश्चित
गोरखकाली रबर उद्योग संचालन
वुढीगण्डकी जलविद्युत (जलाशययुक्त आयोजनाको यथासिघ्र निर्माण र संचालन
पोखरा अन्तराष्ट्रिय विमानस्थलको नियमित र व्यवस्थित संचालन
पोखरा बसपार्क निमार्ण
मध्य पहाडी लोकमार्गको निर्माणमा भएको ढिलासुस्ती अन्त्य
यी यावत सवाल तत्काल राज्यले सम्बोधन गरोस भनी नेपाल सरकार एवं सम्बन्धित संवैधानिक निकायहरूको ध्यानाकर्षण गर्न चाहन्छौ। हामी राजनीतिक पुर्नसंरचना चाहन्छौ, अवको दशक विचार र एजेण्डा सहितको वैकल्पिक शक्तिको दशक बनाउन चाहान्छौ ।






