पर्यटकको रोजाइ बन्दै बाग्लुङको चौकीखर्क, गोठालाको खुसी दोब्बर
डम्मर बुढामगर
बाग्लुङ । रंगीन बुकी फूल, बादलको लुकामारी, र सिरसिरे बतासले भरिएको चौरीखर्क (स्थानीय भाषा अनुसार ‘चुङ्री’) पछिल्ला दिनमा प्रकृतिप्रेमी पर्यटकको प्रिय गन्तव्य बन्दै गएको छ ।
बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने करिब ४ हजार मिटर उचाइको यो क्षेत्र केही समयअघिसम्म प्रायः अपरिचित थियो । तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार हुँदै जाँदा अहिले चौरीखर्कमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
हरिया डाँडामा रमाउँदै, उत्तरतिर देखिने हिमशृङ्खला, र भेडीगोठ हेर्दै सयर गर्न चाहनेका लागि चौरीखर्क अब उपयुक्त गन्तव्यका रूपमा चिनिन थालेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पातीहाल्नेबाट चौरीलेक पुग्न सकिने सजिलो पहुँचका कारण पनि पर्यटकको आकर्षण बढेको हो ।
बर्षौंदेखि बागलुङ, रुकुमपूर्व, रोल्पा र म्याग्दीका गोठाला वर्खाको समयमा चौरीखर्कमा गोठालो गर्न आउने गर्दछन् । तर अब पर्यटक पनि नियमित रुपमा आइपुग्न थालेपछि गोठालाहरू खुसी भएका छन् ।
निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरले गत वर्ष भदौदेखि पर्यटक आउन थालेको बताउँदै यस वर्ष जेठको अन्तिम साता गोठ लिएर आएको र असारभित्रै सयौं पर्यटक आइपुगेको जानकारी दिए ।
‘पहिले त हामी गोठालाकै लागि प्यारा थियो यो लेक, अहिले त घुम्न आउनेहरू पनि निकै मन पराउँछन्’ उनले भने, ‘बिहान आएर साँझ फर्किने देखि टेण्ट टाँगेर बस्ने समेत छन्, अहिले त दैनिक सयजना जति आइरहन्छन्, बिदामा त डाँडैभरि मानिसले भरिन्छ ।’
पछिल्लो वर्ष पर्यटकलाई लक्षित गर्दै पदमार्ग निर्माण गरिएको थियो । भूमे गाउँपालिका–१ का गोठाला नमसिंह गुरुङका अनुसार वर्खामा हरियाली, फूलहरू र गोठले भरिएको दृश्यले पर्यटकलाई आकर्षित गरेको हो ।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष रु १० लाख खर्चेर रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने करिब ५ किलोमिटर पदमार्ग निर्माण गरिएको जानकारी दिए । यस वर्ष थप पूर्वाधार विकासका लागि लुम्बिनी प्रदेश सरकारले रु २५ लाख विनियोजन गरेको उनले बताए ।
“गत वर्षदेखि पर्यटक आउन थालेका छन्,” प्रमुख खनालले भने, “यो क्षेत्रलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको पनि ध्यान छ । कोइपामा जलाकी बनाइएको छ, पदमार्ग निर्माण भएको छ र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउन थप योजना अघि बढिरहेको छ ।”
दाङको तुल्सीपुरबाट घुम्न आएका पारस न्यौपानेले चौरीखर्कको प्राकृतिक सौन्दर्यले मोहित बनाएको प्रतिक्रिया दिए । बुटवल, गुल्मी, बुर्तिवाङ हुँदै चौरीखर्क पुगेका उनले दाङको गर्मीबाट उम्किएर यहाँको सिरसिरे बतासमा रमाएको अनुभव सुनाए ।
साथै, पातीहाल्नेबाट चौरीखर्कसम्म विभिन्न ठाउँमा साइनबोर्ड र विश्रामस्थल बनाइयो भने अझ सहज हुने सुझाव पनि दिए ।

