वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी भ्रष्टाचार

काठमाडौं । वडाध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा इन्जिनियरसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा  दायर गरेको छ।

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जितकुमार यादवसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूले कृषि प्रवर्द्धन कार्यक्रमको लागि विनियोजित १४ लाख ७७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। उनीहरु विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सबैला नगरपालिकाका तत्कालीन लेखापाल शिव कुमार झा, पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, सबैला नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादव, सबैला नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुर रहेका छन् ।

सबैला नगरपालिकाले आर्थिक वर्ष. २०७७/७८ मा कृषि प्रवर्द्धन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा सबैला नगरपालिकाले बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन भएको पाइएको थियो ।

उनीहरूले उक्त कार्यक्रमअनुसार बोका, पाठी, खसी पालन नगरी झुट्टा विल भरपाई र गलत कागजात तयार गरेर १४ लाख ७७ हजार ५०० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ७७ हजार ५०० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...