विप्लव र घनश्यामले गरे नयाँ शक्तिको प्रशंसा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं स्थापना दिवस शुक्रबार काठमाडौं सहित देशभर मनाइएको छ। २०७३ जेठ ३० मा नयाँ शक्ति घोषणा गरिएको थियो।

काठमाडौंमा आयोजना गरिएको पार्टी स्थापना कार्यक्रममा अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति,नयाँ शक्तिको उदय,आगामी कार्यदिशा र बर्तमान राजनीतिक संकट लगायत बिषयमा धारणा राखेका थिए ।

सोही कार्यक्रममा अतिथि रहेका नेकपा महासचिव नेत्रबिक्रम चन्द विप्लव र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल लगायत नेताहरूले बाबुराम भट्टराई र नयाँ वैकल्पिक शक्तिको रुपमा उदाएको नेसपा (नयाँ शक्ति) को प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै नेकपा महासचिव विप्लवले अहिलेको राज्यको लथालिङ्ग अवस्थाका लागि माओवादी सबैभन्दा बढी जिम्मेवार रहेको बताए। उनले क्रान्तिपछि सत्तामा पुगेका माओवादी नेताहरू सत्तालिप्सामा लागेको र राज्य पुनर्संरचनामा चुकेको आरोप लगाए । उनले नयाँ शक्तिलाई जनयुद्धको योगदान र श्रमिकको अवस्थाबारे अझै जोड दिएर बिषय उठान गर्न सुझाए।

विप्लवले भने ‘हामी कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेलको पछि लागेर जनयुद्धमा होमिएका हौँ । क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन’, उनले भने, ‘आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो। मन्त्री, प्रधानमन्त्री भएका माओवादी नेताहरू राज्यका पद बाँडफाँटमा लिप्त भए। गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन, त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’

उनले बाबुराम भट्टराईको खुलेर प्रशंसा गर्दै आन्दोलन बुझेको,अर्थतन्त्र बुझेको,बौद्धिक र परिपक्व नेता भएको बताए। साथै विप्लवले अबको नयाँ विकल्प बारे बाबुराम भट्टराईसँगै बसेर छलफल गर्न र सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत बताए।  उनले नयाँ शक्तिले पेस गरेको कार्यपत्रमा अग्रगामी परिवर्तन, आत्मनिर्भर सहितको समृद्धि, जनयुद्धको योगदान, राष्ट्रिय स्वाधीनता, आजको राज्यसत्ता र श्रमिकबिचको मुख्य अनन्तर विरोधलाई पनि समेट्न सुझाव दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बाबुराम भट्टराई नभएको भए १० बर्षे जनयुद्धको परिभाषा फरक हुने तर्क गरे। जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हो भनेर बुझ्ने अवस्था पनि आउन सक्थ्यो भन्दै उनले बाबुरामका कारण नै त्यो राजनीतिक र बैचारिक युद्ध थियो र परिवर्तन ल्याउन सकियो भन्ने पुष्टि भएको समेत बताए।

उनले भने,’जनयुद्धमा कमरेड बाबुराम भट्टराई हुँदैन थिए भने जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने थियो। उहाँले त्यसलाई ऐतिहासिक सान्दर्भिकता साथ जोडेर बिचार दिनुभयो।त्यसैले बाबुराम भट्टराईलाई पुर्व प्रधानमन्त्री भनेर सिमित नगरौ,उहाँले लेख्ने,बोल्ने र नयाँ बिचार खोज्ने कुराले अलग्गै ठाउँ बनाउछ।’

भुषालले आफुले बाबुराम भट्टराईले लेखेका लेख रचना, बिचार सबै पढेको र बुझेको भन्दै बाबुरामको लेखनको नियमित पाठक भएको समेत बताए। उनले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको आवश्यकता र समाजवादी आन्दोलन छ भन्ने कुरा सबैले स्विकार्नुपर्ने समेत बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...