नेपाल हेरिटेज २५ किमी रेसमा केन्याका जुलियस र नेपालकी सन्तोषी प्रथम

काठमाडौं । नेपाल हेरिटेज २५ किलोमिटर रेसमा पुरुषतर्फ केन्याका जुलियस म्युरुकी र महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ विजेता बनेका छन्।
जुलियसले १ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी तय गर्दै उपाधि जिते। आर्मीका विनोद रोकाया दोस्रो (१:१७:११) र सुशील केसी तेस्रो (१:१८:५१) भए। महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा पहिलो स्थान हात पारिन्। आर्मीकी नीशा सार्की दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन्। दुबै वर्गका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाए।
५ किलोमिटर यू-१८तर्फ अजय पाण्डे (१७:१२) र अस्मिता भुजेल (२१:४७.६६) विजेता बने। भेट्रानतर्फ धर्म महर्जन (१८:३१.१५) र शर्मिला बस्नेत (२६:१९.७९) प्रथम भए। यू-१८ र भेट्रानतर्फका विजेताले १० हजार, दोस्रोले ६ हजार, तेस्रोले ३ हजार रुपैयाँ पाए।
२५ किमीको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन, ग्वार्को, गौशाला, स्वयम्भु हुँदै फेरि रंगशालामै टुंगिएको थियो। विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरे।

