प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : गिरिबन्धु छानबिन गराउन सक्नुहुन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गिरिबन्धु प्रकरणमा निर्दोष नभएको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई यदि निर्दोष हो भने छानबिन गराउन चुनौती दिएका छन् । उनले भने,-‘ओलीजी,संसदको रोष्ट्रमबाट गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर भन्नुस न त !’
अध्यक्ष प्रचण्डले भने-, ‘मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरुन्तै शेरादरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरू गरियोस् पनि भनेको थिएँ। छानबिन गर्न आँट हुने स्थिति भएन किनकि मेरो कुनै संलग्नता थिएन। केही पनि छैन। केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ। तर, लौ तपाईं गिरिबन्धुबारे यसो भन्नुस् त ।’
उनले शेरादरबारको कुरा माओवादी पार्टी र नेतृत्वलाई बदनाम गर्ने षड्यन्त्र थियो भन्दै अगाडि थपे-,’केही नभएकै कारण हुनाले संसद्को रोष्ट्रमबाट पनि मैले मैबाट सुरु गरियोस् छानबिन भनेको हुँ। मेरो कुनै नाता साइनो छैन, नियोजित प्रचार थियो। ल त अरूले पनि भनेर देखाउन् त मैबाट छानबिन गरियोस् भनेर, गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर प्रधानमन्त्रीजीले भनुन् त, अरू जग्गाको केसमा अरू नेताहरूले भनुन् त।’
उनले कहिलेकाहीँ क्यान्टोनमेन्टको कुरा आउने गरेको बारेमा पनि भने-‘त्यसको सम्पूर्ण व्यवस्था गर्ने जिम्मा गिरिजाबाबुले लिनुभएको थियो। त्यस बेला अर्थमन्त्री रामशरण महत थिए, सबै गरेको उनीहरूले हो।हाम्रो तर्फबाट मन्त्री महराजी हुनुहुन्थ्यो, सबै हिसाबकिताब क्लियर भएको कुरालाई उठाइराख्ने, माओवादीलाई बदनाम गर्ने, माओवादी पार्टी राम्रो हुन थाल्यो जनताले विश्वास गर्न थालेपछि त्यही बेलामा उठाइराख्ने त्यसैले यो कुरामा कुनै तुक छैन।’

