बाबुराम छाडेर एक थान ‘सचिव’ !

शिरज शर्मा

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा सोमबार एक पदाधिकारी थप गरिएको छ। त्यसको निर्णय कुनै महाधिवेशन, विशेष भेला वा केन्द्रीय समितिले होइन सुप्रीमो प्रचण्डले हुकुमी प्रमाङ्गी शैलीमै गरिदिएका हुन् । पदाधिकारी थपिने कुरा बहालवाला ‘पदाधिकारीहरु’लाई पनि थाहा थिएन।

बिगत ३ वर्षदेखि माओवादीबाटै वाग्मती प्रदेश सांसदको रुपमा रहेका सिन्धुलीका युवा नेता गङ्गानारायण श्रेष्ठ सोमबारदेखि औपचारिक रुपमा नेकपा माओवादी केन्द्रको सचिव भएका छन् । माओवादी पदाधिकारीको संख्यामा यस अघि ९ जना सचिवको नाम थियो अब सचिवको संख्या १० पुगेको छ । सचिवमध्ये श्रेष्ठ उमेरले सबैभन्दा कान्छो हुन् ।

अचम्म के छ भने माओवादीको एक थान सचिवका लागि श्रेष्ठ ३ वर्षदेखि माओवादी ढोका ढकढक्याएर दैलोमा नै बसिरहेका थिए।भन्न मात्रै नमिलेको हो उनी प्रचण्डकै ढोका खुल्ने आशामा बसेका थिए । तर,ढोका तत्काल नखुल्ने भएपछि झ्यालबाट भएपनी पस्ने तयारी थालेका श्रेष्ठलाई अन्ततः ढोका खुल्यो। यो अप्रत्याशित सफलता हो, यसलाई छलाङ नै मान्दा पनि हुन्छ ।

नयाँ शक्ति निर्माण अभियानदेखी पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथमा रहेका श्रेष्ठले बाबुराम छाडेर प्रचण्ड रोजेका हुन् । बाबुराम प्रधानमन्त्री हुँदा मुख्य स्वकीय सचिव रहेका श्रेष्ठ पुर्व विद्यार्थी नेता हुन् । उनी लामो समय जेल बसेका थिए।तर,श्रेष्ठको यो निर्णय अप्रत्याशित होइन, उनी माओवादीकै नेताको रुपमा प्रस्तुत भैरहेका थिए। उनले बाबुरामसँग सम्बन्ध तोडेर महेन्द्र यादव सहितको नेपाल समाजवादी पार्टी चलाएपनी काम माओवादीकै गर्दै आइरहेका थिए।

यो बिचमा श्रेष्ठले प्रचण्ड रोज्न कम्ता दु:ख गरेनन् । महेन्द्र यादव समेतलाई उचालेर बाबुरामको पार्टी फुटाउनु, नेसपाको सह-अध्यक्ष भन्दै माओवादीको सांसद बनेर मन्त्री हुनु, फेरि महेन्द्रलाई छाडेर आफैं पार्टीको संयोजक बन्नु र त्यसको २४ घन्टा मै पार्टी एकता भनेर माओवादीको सचिव हुनु कम्ती संघर्ष हो त ! त्यसमाथि आफू भन्दा सिनियर नेतालाई पाखा लगाएर एकैपटक पदाधिकारी लाइनमा बस्न पाउनु ठुलै ‘उथलपुथल’ हो नि ।

तर, आश्चर्य लाग्दो कुरा के छ भने बाबुरामलाई छाडेपछि माओवादीमा होस् या एमालेमा होस् पाउने भनेको ‘एकथान सचिव’ नै रहेछ । लामो समय बाबुरामलाई साथ दिएका हाल शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुर रायमाझी पहिले माओवादीमा हुँदा बाबुराम कोटाबाट सचिव नै थिए। माओवादी र एमाले एकतापछि भंग भएर नेकपा एमालेमै रहेका रायमाझी त्यहाँ पनि सचिव नै भए। उनको सचिव पद अहिले निलम्बनमा छ।

यता बाबुरामको नयाँ शक्तिमा महासचिव भएका देवेन्द्र पौडेल पनि माओवादीमा फर्किएपछि सचिव नै भए। उनी १५ जना नेतालाई लिएर नयाँ शक्ति अभियानकै क्रममा माओवादीमा फर्केपनी पाएको त्यै एकथान सचिव नै हो। केही समय शिक्षामन्त्री भएका पौडेल अहिले प्रचण्डको विस्वासीलो बनेका छन् ।

अर्का नेता दिनानाथ शर्मा पनि माओवादीमा सचिव नै छन् । उनी पनि जनयुद्धकालदेखी डा.भट्टराईकै निकट थिए। बाबुरामकै पक्ष लिएका कारण जनयुद्धमा झन्डै ज्यान गुमाएका बाग्लुङका शर्मा नाम मात्रैको सचिवका रुपमा माओवादीमा छन् !

लामो समय बाबुरामसँगै निकट रहेर हाल माओवादीमा ‘बसौं कि छाडौं’ भनिरहेका राम कार्की पनि अहिले माओवादीमा सचिव छन् । उनको सचिव पद पार्टीमा छ भनिन्छ तर सचिवको रुपमा पदाधिकारी बैठकमा समेत उपस्थिति देखिन्न। कुनैबेला मसालमा संगै काम गरेका कारण बाबुरामसँगै निकट भनेर चिनिएका तर,प्रचण्डले कुनैबेला तमुवान राज्य समितिको इन्चार्ज बनाएपछि फेरिएका डिलाराम शर्मा पनि अहिले माओवादीमा सचिव नै छन् । अर्घाखाँचीका शर्मा नेकपा मसालबाट माओवादीमा पछि मात्रै जोडिएका नेता हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय