माओवादी विराटनगरमा जनार्दन पक्ष प्यानल नै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । उनी जनार्दन शर्मा प्यानलका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् । न्यौपाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । उनलाई अध्यक्ष बनाउन प्रचण्डले ५ दिनसम्म निर्वाचन प्रक्रिया नै शुरु गर्न दिएका थिएनन् ।
यसअघि महानगरको उपाध्यक्ष रहेका राजवंशी अब नयाँ नेतृत्वमा उक्लिएका छन् भने पूर्व सचिव न्यौपाने अध्यक्ष पदको दौडमा पराजित भएकी छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन निकट केन्द्रीय सदस्य शिवकुमार मण्डल समूहले राजवंशीको नेतृत्वमा प्यानल बनाएका थिए । अर्कातिर प्रचण्डको निर्देशनमा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले न्यौपानेलाई अध्यक्ष पदका उम्मेदवार बनाएको थियो ।
राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (५८ मत) र सनोज कुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी, सचिवमा सोनु मेवट ४२ मत ल्याएर विजयी भए भने सहसचिवमा दिनेश कुमार कामत ३९ मत ल्याएर निर्वाचित भए ।
न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत प्राप्त गरे । सचिवमा मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरी (गोसाइ) ले ३२ मत प्राप्त गरे । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । माओवादी केन्द्रको विधान अनुसार, कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।

