२०८१ को बिदाइ, २०८२ को स्वागत
नारायण बहादुर बस्नेत
समयको चक्र निरन्तर घुमिरहन्छ। एउटा वर्षको विदाइ हुन्छ, अर्को वर्षको आगमन। यसरी नै हामीले २०८१ साललाई सम्झनाका पानामा राख्दैछौं, र २०८२ को स्वागत गर्न आतुर छौं।
०८१ सालले हामीलाई केहि मिठा सम्झनाहरू दियो, त केहि कटु अनुभूतिहरू पनि। राजनीतिमा अस्थिरता कायम नै रह्यो भने केही नेताहरू जेल र हिरासत पुगे। पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गण्डकी प्रदेशका पुर्व मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) हरु जेल पुगे भने धवल शमशेर राणा,रविन्द्र मिश्र र ब्यबसायी दुर्गा प्रसाईं लगायत चिनिएका केही अनुहार हिरासतमा छन् । राप्रपा नेता एवं बहालवाला सांसद दिपक बोहराको निधन भयो।
२०८१ मा बाढी पहिरो,भुकम्प र आगलागीबाट नागरिकका ज्यान गयो। त्यसैगरी भौतिक संरचनाको क्षति र वैदेशिक ऋणमा वृद्धि पनि कायम रह्यो। रोग,भोक, महँगी, कालाबजारी, भ्रष्टाचार र अनियमितताका समाचारहरु बर्षैभरी आइरहे। सरकार र नेताहरूको आश्वासन पनि जनताले पाइरहे। तर, जनताको जीवन स्तरमा सुधार र खुशियाली भने त्यति सार्है देखिएन। अब २०८२ मा यस्तो नहोस् भन्ने कामना गरौं ।
त्यसैगरी वर्ष २०८१ मा केही विकासका सम्भावनाहरू देखिए, तर चुनौतीहरू पनि कम थिएनन्। समाजमा नवीनता, प्रविधिको विकास र शिक्षामा केही सुधार देख्न पाइयो । तर,विश्वविद्यालय र निजि क्याम्पसमा भने राजनीतिको उही पुरानै हावा चलिरह्यो। यद्यपि विद्यार्थी चुनाव,नेपाल बार एसोसिएसन,नेपाल पत्रकार महासंघ र अन्य सामाजिक संस्थामा भएको निर्वाचनमा कुनै अप्रीय घटना भएनन् र नतिजा पनि अप्रत्याशित आएन। उही पुरानै दल र तिनका निकटहरु बिचमै प्रतिस्पर्धा भए। राजनीतिमा स्थायित्वको खोजी जारी नै रह्यो। समग्रमा २०८१ मा जनजीवनमा महँगी, बेरोजगारी र अन्य आर्थिक समस्या समाधान गर्नुपर्ने आवश्यकता अझै उस्तै रह्यो।
तर, शिक्षामा अपेक्षित सुधार हुन सकेन। बरू, बाह्र पास गर्न साथ पीआर पाउने देशतर्फ युवा-युवतीहरूको लर्को बढिरहेको छ। योग्य, सक्षम, र सिर्जनशील युवाहरू स्वदेश छोड्न बाध्य भइरहेका छन्, जसले नेपालको भविष्यलाई चुनौती दिइरहेको छ। अबको दिनमा शिक्षालाई आधुनिक, व्यावहारिक, र रोजगारीमुखी बनाउन सकियो भने मात्र युवाहरूलाई स्वदेशमै अवसर दिन सकिन्छ। उनीहरूलाई यहीँनै सम्भावनाका ढोका खोल्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।
तर, आशावादी हौं, किनकि नयाँ वर्ष नयाँ सम्भावनाको ढोका हो। आउँदै गरेको २०८२ सालले हामी नेपालीहरूका लागि शान्ति, समृद्धि, र स्थायित्व ल्याओस्। हाम्रो देशले आर्थिक विकास, रोजगारी, र सामाजिक स्थायित्वको बाटो समातोस्। शिक्षा प्रणालीलाई सुधार गरी युवाहरूलाई स्वदेशमै उज्जवल भविष्य देख्न सक्ने बनाउन सकियोस्। राजनीति स्थिर रहोस्, युवाहरूलाई स्वदेशमै अवसर मिलोस्, र हामी सबै मिलेर समृद्ध नेपालको सपना पूरा गरौं।
नयाँ वर्षको उज्यालो बिहानी सबैका जीवनमा सुख, शान्ति, र समृद्धि लिएर आउँछ। सबै नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा २०८२ सालको हार्दिक मंगलमय शुभकामना!

