तीन शिर्ष नेता आज भेट्दै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) भेट गर्ने भएका छन् ।

गणतन्त्र विरुद्ध राजावादीको गतिविधि बढ्न थालेपछि तीन पार्टीका शिर्ष नेताले भेटवार्ता गर्ने तयारी गरेका हुन् । सत्तामा हुनु र प्रतिपक्षीमा हुनु भन्दापनी देशको राजनीतिक अवस्थामा फेरबदल गर्ने भन्दै राजावादी जुरमुराउन थालेपछि प्रधानमन्त्री ओलीको सक्रियता मै देउवा र प्रचण्डसँग गम्भीर कुराकानी हुन लागेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ। हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष प्रचण्ड छलफलका लागि आज काठमाडौँ आउने छन् । उनी आइतबार नै काठमाडौँ आउने तय भएर पनि रोकिएको थियो।

बैठकमा राजावादीको आन्दोलन बाहेक संक्रमणकालीन न्याय (टीआरसी) बारे पनि छलफल हुने बताइएको छ । चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै आएका छन् ।

यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय