दिलिपको ‘हेल्लो काशिराम’ चलचित्र जेठमा प्रदर्शन हुने

काठमाडौं । चलचित्र छायांकन अवधिभर कतै कुनै जानकारी नदिइएको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ ।
हाल पोष्टप्रोडक्सनको काम भैरहेको यो चलचित्रले २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध हुनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको अभिनय छ।
त्यसैगरी नायिका प्रियंका कार्कीलाई विशेष भूमिकामा देख्न पाइने छ। रेडलाइन फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् ।
फिल्मको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा सेलिब्रेटी टाइम्स प्रा.लीले लिएको छ ।

