राजावादी सलबलाएपछि सुरक्षाकर्मीको ‘हाईअलर्ट’

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार राजावादीले प्रदर्शनको तयारी गरेपछि बिहानैदेखि उपत्यकाको तीन वटै जिल्लामा सुरक्षाकर्मीको ‘हाईअलर्ट’ कायम गरिएको छ।
पोखरा भ्रमणमा रहेका ज्ञानेन्द्र शाह आज दिउँसो २:३० बजेपछि काठमाडौं फर्किने कार्यक्रम छ। उनी हवाइमार्गबाट काठमाडौं फर्किन लागेपछि पोखरा विमानस्थल र काठमाडौंमा समेत राजावादीहरुले प्रदर्शनको तयारी गरेका छन् । पोखरामा बिहान ११ बजेदेखि भेला र प्रदर्शन गर्दै ज्ञानेन्द्र शाहको बिदाइ गर्ने कार्यक्रम छ।
यसैगरी काठमाडौंमा भने राप्रपा,राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले ज्ञानेन्द्रको स्वागत गर्ने कार्यक्रम छ। प्रदर्शनमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै काठमाडौँका विभिन्न चोकमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
एकसाता लामो पोखरा बसाइपछि दिउँसो काठमाडौ फर्किन लागेका पूर्वराजाको स्वागतमा राजावादी र केही समूहहरुले त्रिभुवन विमानस्थल सहित अन्य स्थानमा प्रदर्शनको तयारी गरेका छन्।
एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म पूर्व राजाको स्वागतमा प्रदर्शन गर्ने तयारी राप्रपासहितका दल र समूहहरुले गरेका छन्। उनीहरुले पुर्व राजालाई नारायणहिटी प्रवेश गराउने हल्ला गरेपनी ज्ञानेन्द्रको निजि निवास निर्मल निवास सम्म लगेर छाड्ने कार्यक्रम रहेको आयोजकको भनाई छ। यद्यपि प्रदर्शनमा अन्त गतिविधि हुन नदिन मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी परिसर काठमाडौले जनाएको छ।
राजावादी समूहहरुहरुले काठमाडौमा प्रदर्शन गर्ने भनेर एकसाता अघिदेखि तयारी गरेपछि सरकार र राजनीतिक दलहरूले समेत त्यसलाई चासोपुर्वक हेरेका छन् । नेकपा माओवादी केन्द्रले आफ्नो तराई-मधेस अभियान स्थगित गरेको छ भने सत्तारुढ एमालेले पनि कार्यकर्तालाई चनाखो रहन निर्देशन दिएको छ।

