चलचित्र ‘हरिबहादुरको जुत्ता’ पनि दसैंमा रिलिज हुने

काठमाडौं । अभिनेता हरिवंश आचार्यका छोरा मोहितबंश आचार्यले निर्माण गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ पनि २०८२ को दसैंमा नै प्रदर्शन हुने भएको छ। यो दसैंमा प्रदर्शन गर्ने भनिएका अरु आधा दर्जन चलचित्र छन् ।
निर्माण टिमले ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको जनाउ संगै फूलपातीबाट प्रदर्शनमा आउन लागेको जानकारी पनि दिएको छ। फिल्म ‘हरिबहादुरको जुत्ता’को तीनवटा गीतबाहेकको छायांकन पूरा भएको छ । गत माघ २१ गते काभ्रेबाट सुरु भएको छायांकन सोमबार २९ दिनमा सकिएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।
इन्डक्ल्यापमा अभिनेता हरिवंश आचार्यको दृश्य खिचिएको थियो । उनले राम्रो टिम भएकाले सहज रुपमा छायांकन सकिएको बताए । उनका अनुसार गीतहरुको छायांकन बैशाखअघि नै गर्ने तयारी छ । फिल्मका निर्माता मोहितबंश आचार्य र सरोज ओली हुन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंशसहित प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, मुरलीधर, राजाराम पौडेल, किरण केसी, रोशनी सापकोटा, दिव्य देव, तारा शर्मा लगायतको अभिनय छ ।

