कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूको उपस्थितिमा देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु भएको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि भैरहवामा हुने प्रशिक्षणमा १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जना सहभागी छन् ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले ०८४ को निर्वाचनमा पनि एउटै पार्टीको बहुमत आउने संभावना नरहेको बताए। एउटै पार्टीको बहुमत नआउने भनेपछि कांग्रेसले बहुमत ल्याउने कुरा भएन भन्दै उनले तर, कांग्रेसलाई सकेजती ठूलो पार्टी बनाउने अभियानमा लाग्न नेताकार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा सभापति देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय, पूर्वमहामन्त्री डा.शशांक कोइराला लगायत नेताहरु भैरहवा मै छन् ।
कांग्रेसका अर्का नेता डा.शेखर कोइराला भने आजै विराटनगरमा अर्को कार्यक्रम रहेकाले उता गएका छन्। विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन कोइराला बिराटनगर पुगेका हुन् ।

