एमालेको सबैकुरा ठिक भन्न सकिन्न : डा.शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) ले भनेका सबै कुरा ठीक भन्दै जान नसकिने बताएका छन् । एमाले कै एजेन्डा ठिक भन्न थालियो भने ०८४ को निर्वाचनमा पार्टीलाई फेस गर्न गाह्रो हुने उनको भनाइ थियो।

नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागले सुर्खेतमा आयोजना गरेको ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य मान्यताको नै अवमूल्यान हुनेगरी एमालेसँग सहकार्य गर्न नहुने बताए । ‘एमालेका सबै कुरा ठिक भन्दै जाने हो भने आउने २०८४ सालको निर्वाचनलाई कसरी फेस गर्ने हो ?’ उनको प्रश्न थियो-‘यस विषयमा पार्टीले रणनीतिक रुपमा अगाडि बढ्नुपर्छ । हामी लोकतान्त्रिक पार्टी हौँ । लोकतान्त्रिक मुल्यमान्यतालाई नै अवमुल्य हुनेगरी एमालेसँग सहकार्य गर्नु हुँदैन।’

नेता कोइरालाले कांग्रेस अहिले सरकारमा भएपनि राम्रो काम गर्नका लागि सरकारको आलोचना जरुरी भएको समेत बताए।सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरु कांग्रेस हुनै नसक्ने उनको भनाइ थियो । नेता कोइरालालले मुलुकको समस्या समाधानको लागि भनेर दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउने र समस्या जस्ताको तस्तै रहने परिस्थितिको बारेमा गम्भीर समीक्षा हुन जरुरी रहेको बताए ।

अर्को कार्यक्रममा डा.कोइरालाले रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै उनिमाथी कारबाही हुनुपर्ने माग समेत गरे। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको उनको आसय थियो।तर, लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन भने नमिल्नेमा उनले जोड दिए।

कोइरालाले अहिले देश एमालेकरण गर्ने प्रयास भइरहेको विषय पनि पुनः दोहोर्याए । अहिले मुलुकको मुख्य-मुख्य जिम्मेवारीमा एमालेकै मान्छे रहेको उनको हिसाब थियो। प्रधानमन्त्री, सभामुख, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, गभर्नरजस्ता प्रमुख जिम्मेवारीमा एमाले रहेको उनको भनाइ थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय