प्रधानमन्त्रीलाई ‘हिटलर’ र आफुलाई ‘हनुमान’ भनेकोमा सुर्य थापाको आपत्ति

काठमाडौं ।नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य सुर्य थापाले पत्रकारले आइतबार प्रधानमन्त्रीलाई र कुनैबेला आफुलाई सोधका प्रश्नहरूप्रति आपत्ति जनाएका छन् ।
कुनैबेलाका पत्रकार समेत रहेका सांसद थापाले प्रधानमन्त्रीलाई हिटलर भन्न पाइन्छ ? भनेर प्रश्न गर्दै आफुलाई पनि कुनैबेला पत्रकारले प्रश्न सोध्दा हनुमान भनेको स्मरण गराए।उनले संघीय संसद भवन परिसरमा मिडिया व्यवस्थापनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए
सांसद थापाले पत्रकारले सोध्ने प्रश्नहरु संविधान र कानुन अनुकुल हुनुपर्ने पनि बताए। उनले भने-‘सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ति प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ति प्रश्नमा गालीगलौज अथवा कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी सोध्न पाइन्छ कि पाइदैन ?’
सांसद थापाले विगतमा आफुलाई पनि पत्रकारले अनावश्यक प्रश्न सोधेको भन्दै सभामुखकै अगाडी भने-‘कयौं पटक म आफैँले भोगेको र हिजो(आइतबार) सम्माननीय प्रधानमन्त्रीज्युलाई लक्षित गरेर सोधिएका प्रश्न प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
आइतबार सांसदहरुको प्रश्नको उत्तर दिएर बाहिर निस्कने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही प्रश्नकर्ताले तपाईं हिटलर हो ? भनेर प्रश्न गरेका थिए। सुर्य थापाले त्यसैलाई इङ्कित गर्दै नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ? भनेर प्रश्न गरेका थिए।
त्यसैगरी आफूलाई पनि अलि अगाडी एकजना मिडियाकर्मीले ‘तपाईं हनुमान हो ?’ भनेर प्रश्न गरेको भन्दै नेता थापाले यस्ता प्रश्न गर्न पाइन्छ कि पाइन्न ? भनेर संसदमा प्रश्न उठाए।

