चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा

तस्वीर : राधिका कँडेल, रासस

पोखरा । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे । भुसालले गरेको गोल नै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।

अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...