१० खेलाडीमा सीमित बार्सिलोनाले सेभियालाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एफसी बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे ।

खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए ।

६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि बार्साले थप एक गोल गर्‍यो । एरिक गार्सियाले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ४-१ को जित पक्का गरे ।

जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी घटाएको छ । बार्सिलोनाको २३ खेलमा ४८ अंक भएको छ । रियलको ५० र एट्लेटिकोको ४९ अंक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय