प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।

प्लाइमाउथले लिभरपुललाई १-० गोलअन्तरले हराएको हो । प्लाइमाउथको जितमा रायन हार्डीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५३औं मिनेटमा गोल गरेका थिए ।

खेलमा धेरै मौकाहरू सिर्जना भएपनि लिभरपुलले गोल भने गर्न सकेन । मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकजस्ता नियमित खेलाडीहरू भने खेलेका थिएनन् ।

लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो । २०२३ मा पनि चौथो चरणबाटै बाहिरिएको लिभरपुल २०२४ मा म्यान्चेस्टर युनाइटेडसँग क्‍वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । प्लाइमाउथ इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात् च्याम्पियनसिपको पनि पुछारमा संघर्ष गरिरहेको छ ।

गएराति नै भएका अन्य खेलहरूमा चेल्सी ब्राइटनसँग २-१ ले पराजित हुँदै बाहिरिएको छ भने एस्टन भिल्लाले टोटनहामलाई २-१ ले हराउँदा फुलहामले विगानलाई, न्युकासलले बर्मिङहामलाई, वुल्भ्सले ब्ल्याकबर्नलाई हराएर पाँचौं चरणमा प्रवेश गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय