नयाँ चलचित्र रिलिज : महाशिवरात्रीमा त्रिपक्षीय भिडन्त !

काठमाडौं । नेपाली फिल्म र फिल्मकर्मीबीच सामाजिक संजालमा वादविवाद र हलमा चलचित्र भिडन्त नौलो कुरा होइन । अक्सर चाडबाडको विदामा फिल्मबीच भिडन्त हुँदै आइराखेको छ ।
नेपाली बजार र हलले एकै मितिमा दुईवटासम्म फिल्म धान्न सक्ने अवस्था भए पनि कहिले काहीँ यो संख्या आधा दर्जन सम्म पुग्छ। त्यसैले कोही मालामाल हुन्छन् भने कोही पत्तासाफ हुन्छन् । एउटै मितिमा धेरै चलचित्र प्रदर्शन हुँदा शो कम हुने र दर्शक पनि बाँडिन्छन् ।
जब दर्शक र हल बाँडिन्छ अनि निर्माताले घाटा बेहोर्नुपर्छ । अब आगामी फागुन १४ गते महाशिवरात्रीमा पनि यस्तै ठूलो भिडन्त हुने देखिन्छ ।
यस वर्ष महाशिवरात्रीमा ३ चलचित्र प्रदर्शन हुने पक्का छ। जेपिटी क्रीयशनको ब्यानरमा कुमार कट्टेलको लाज शरणम,दिवाकर भट्टराईको मायावी र निरोज महर्जनको फेरि रेशम फिलिली ।
कात्तिक १५ का लागि सुरूमा रिलिज मिति घोषणा गरिएको मायावी पछि पौष २६ मा रिलिज गर्ने भनिए पनि सर्दासर्दै फागुन १४ मा आइपुगेको हो। यस फिल्ममा पल शाह र दिपिका पसाईं मुख्य भूमिकामा छन्। लबस्टोरी जनरामा बनेको फिल्ममा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तको लगानी छ।
त्यसैगरी सक्किगोनी टेलिसिरियलका जिग्री-पाँणे (केदार कट्टेल र अर्जुन घिमिरे)ले निर्माण गरेको चलचित्र लाज शरणममा सिताराम कट्टेल धुर्मुस,बिजय बराल, अर्जुन घिमिरे,सागर लम्साल बले,हरिश निरौला कक्रोच लगायतको अभिनय छ। यो राजनीतिक बिषयमा हास्यरस मिसाएर निर्माण गरिएको चलचित्र हो।
त्यस्तै रेशम फिलिलिको सिक्वेल चलचित्र ‘फेरि रेशम फिलिलि’ पनि हास्य र मायाप्रेमको कथामा बनेको चलचित्र हो। निर्देशक निरज महर्जनकै कथा रहेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरसियासँगै नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।
अब यी ३ फिल्मको भिडन्तमा कुन निर्माण कम्पनीले पैसा छाप्छ र कुनले पुर्पुरोमा हात लगाउन पर्छ, त्यो हेर्न बाँकी छ । आशा गरौं सबै चलचित्रले लगानी सुरक्षीत गर्दै निर्माताको गोजि पनि भरिदेओस।

