रिलिजको अघिल्लो दिन ‘एक्टरः टेक वन’ को प्रदर्शनमा अदालतको रोक

काठमाडौं ।अभिनेता राजबल्लव कोइरालाको ‘कम्ब्याक’ एवं प्रदिप खड्का,दिव्य रायमाझी अभिनित चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अदालतले आदेश दिएमो छ।
राजन भुषाल निर्देशित एवं थमन भण्डारीले निर्माण गरेको यो फिल्म बुधबार प्रदर्शन हुने तयारीमा टिकट समेत बिक्रि भैसकेको थियो। मंगलबार भब्य प्रीमियर गरिएको चलचित्रको प्रदर्शन रोकिएपछि निर्माता,निर्देशक र कलाकार सहित दर्शक अन्यौलमा छन् ।
काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रिलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो। यसअघि माघ ५ मा प्रदर्शन भएको फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न शुक्रबार अदालतमा रिट दायर गरेको थियो।
यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन्। उनको फिल्म ‘एक्टर’ माघ ५ मा प्रदर्शन भएपनी चलचित्रले दर्शकको साथ नपाएपछि पानी पनि भन्न पाएकी थिएन । अङ्ग्रेजीमा Actor र Aktor लेखेर दुई फिल्म प्रदर्शनमा आएका थिए।
कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’ पक्षले प्रतिलिपि अधिकार कानुनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसहित उपयुक्त आदेश माग गरेको थियो।
सोही रिटउपर मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले सुनुवाइ गरी फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हो। साथै, दुवै पक्षलाई माघ २२ गते छलफलका लागि अदालतले बोलाएको छ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको सँघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टरः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नू नगराउनू भनी चलचित्र विकास बोर्डसमेत विपक्षीको नाममा अल्पकालीन आदेश जारी गरिदिएको छ। आदेशको जानकारी विपक्षीलाई दिनू।’

