१० चलचित्र ‘डिजिटाइजेसन’ गरिँदै

काठमाडौ।नेपाल चलचित्र विकास बोर्डले विभिन्न १० वटा नेपाली चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ। नवीन सुब्बा निर्देशित बहुचर्चित चलचित्र ‘नुमाफुङ’ सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्न लागिएको हो।

लिम्बु संस्कृतिमा बनेको ‘नुमाफुङ’ले तत्कालीन समयमा उत्कृष्ट चलचित्रको रूपमा दर्शकको साथ पाएको थियो।तर,रिलको जमाना भएकोले अहिले जस्तो डिजिटल प्रबिधिमा चलचित्र हेर्न मिल्दैन। त्यसैले डिजिटाइजेसन गरेर संरक्षण गर्न लागिएको हो। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार नीर शाह निर्देशित चलचित्र ‘वसन्ती’ र तुलशी घिमिरे निर्देशित ‘बलिदान’ र ‘दक्षिणा’ पनि डिजिटाइजेसन गरिनेछ। त्यस्तै चलचित्र ‘बसाइँ’ र ‘वीर गणेशमान’ चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिन लागिएको अध्यक्ष डिसिको भनाइ छ।

मुख्यतः दर्शकले रुचाएका र विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न लागिएको बोर्डको भनाइ छ । केही समयमा यो कार्य सुरू हुने अध्यक्ष डिसि बताउँछन् । यी चलचित्रलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ।
यसअगाडि पनि चलचित्र बिकास बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई ‘डिजिटाइजेसन’ गरिसकेको छ । साथै ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय