राष्ट्रपतिबाट काठमाडौं महानगरपालिका सम्मानित

काठमाडौं, ६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्लाई स्थानीय सरकारको कामकाजमा लागू गरेको र शङ्खधर साख्वाःको प्रतिमा स्थापना गरेको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकालाई प्रशंसापत्रबाट सम्मानित गरेका छन् ।
साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षका अवसरमा मङ्गलबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले राष्ट्रपति कार्यालयमा आयोजना गरेको शङ्खधर दिवस विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कामपालाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
प्रशंसापत्र महानगरका प्रवक्ता नवीन मानन्धरले ग्रहण गरेका थिए । त्यस अवसरमा काठमाडौँसँगै ललितपुर महानगरपालिका र मध्यपुरथिमी नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।
समारोहमा राष्ट्रपति पौडेलले आफ्नै देशको नामबाट स्थापित नेपालको ‘नेपाल संवत्’ विश्वभरिमै एक मात्र मौलिक संवत् भएको उल्लेख गरे । ‘यसमा नेपालीले गौरव गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको विविधतालाई एकताको अक्षुण्णतालाई नेपालसंवत्ले बाँधेको छ ।’ उनले साख्वामा परोपकारी र लोककल्याणकारी भावनाको शिखर व्यक्तित्व भएको बताउनुभयो ।
सोही अवसरमा बोल्दै महानगर प्रवक्ता मानन्धरले साख्वाःका व्यक्तित्वसँग जोडिएका धेरै आयाम भएको र यसमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण आयाम भनेको ऋणको बोझले थिचिएका वर्गको उत्थानका लागि आफूले आर्जन गरेको सम्पत्ति खर्च गर्नु रहेको उल्लेख गरे ।
नेपाल संवत् चन्द्रमासअनुसार गणना हुन्छ । यो संवत ९३६ कात्तिक ३ गतेदेखि सुरु भएको मानिन्छ ।
नेपाल संवत्का विषयमा २०३५ सालसम्म धेरै चर्चा भएन । विसं २०३६ देखि दिवसका रुपमा मनाउन थालिएको हो । विसं २०६४ मा राष्ट्रिय संवत्का रुपमा मान्यता दिइएको हो ।

