केपी ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने, सोही दिन शपथग्रहण

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्‍वान गरेअनुसार शुक्रबार राति दाबी पेश गरेपछि ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ । सानो आकारको मन्त्रीमण्डल पनि सोही दिन बनाइने निश्‍चित जस्तै छ ।

काँग्रेस र एमालेबीच भएको सहमति अनुसार गृहमन्त्रीमा काँग्रेसका रमेश लेखक र अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल नियुक्त हुने लगभग पक्कापक्की भइसकेको छ । यीबाहेक काँग्रेसबाट प्रकाशमान सिंह, आरजु राणालगायत मन्त्री बन्‍ने चर्चा छ भने एमालेबाट योगेश भट्टराई, महेश बर्तौला मन्त्री बन्‍ने चर्चा छ ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय