देउवाले ओलीको घरमा ‘दहीच्युरा’ खाएपछि संकटमा प्रचण्ड

काठमाडौं।असार १५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर खाएको ‘दहीच्युरा’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागी महँगो पर्ने भएको छ।
बर्तमान सत्ता गठबन्धनको ठूलो दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सत्ता साझेदारीको नयाँ विकल्पमा छलफल हुनथालेपछि उथलपुथलमा माहिर मानिएका प्रधानमन्त्री प्रचण्ड रन्थनिएका छन् । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आज ३ घण्टा बालुवाटारमा बोलाएर फकाए। तर,ओलीले उल्टै सहमतिको सरकार बनाउन आवश्यक भएको भन्दै प्रचण्डलाई उपदेश दिए। शनिबार देउवा-ओली भेट हुँदा प्रचण्ड चितवनमा थिए।
स्रोतका अनुसार प्रचण्डलाई ओलीले कांग्रेस सभापति देउवाबाट आफुलाई प्रधानमन्त्रीको अफर आएको पनि सुनाएका थिए। ओलीको कुरा सुनेपछि प्रचण्डले हतार नगर्न भन्दै वामपन्थी एकताको कुरा गरेर ओलीलाई कांग्रेससँग तत्काल गठबन्धन नगर्न सुझाए।यद्यपि कांग्रेसकै जिम्मेवार नेताका अनुसार दुई पार्टी मिलेर केन्द्र र प्रदेशमा बलियो सरकार निर्माण गर्ने तथा दुबै नेताले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्नेगरी छलफल चलाएका छन्।
एमाले अध्यक्ष ओलीलाई पहिला प्रधानमन्त्री बन्न देउवाले नै प्रस्ताव गरेका छन् ।अन्य दल सहभागी भएमा रक्षा, गृह र परराष्ट्र सहित ९ मन्त्रालय कांग्रेसले लिनेछ। एमालेले प्रधानमन्त्री पाएपछि अर्थ,सुचना तथा संचार सहित ७ मन्त्रालय लिनेछ। तर,अरु दल सहभागी नहुदा भने कांग्रेसले १३ देखि १५ मन्त्रालय दाबी गर्नेछ।त्यसैगरी प्रदेशमा पनि ३/३ मुख्यमन्त्री भागबन्डा गर्ने र एउटामा अरु कुनै दल वा त्यसको सट्टामा संघीय मन्त्रीमा लेनदेन हुनेछ।
दुई नेताले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा माओवादीलाई एक मुख्यमन्त्री दिने समेत भनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राप्रपालाई भने सरकारको भागबन्डामा महत्त्व दिइएको छैन। यद्यपि रवि लामिछानेलाई ०८४ मा रोक्नका लागि अहिले सत्तामै राख्नुपर्नेमा दुई दलका नेताबीच छलफल चलेको छ।

