रियाल मड्रिडलाई १५औं पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, २० जेठ । स्पेनिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-० गोलअन्तरले हराउँदै रियलले च्याम्पियन्स लिगमा आफ्नो दबदबा अझै उचाइमा पुर्‍याउन सफल भयो ।

रियलको जितमा डानी कार्भाहाल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएका थिए । अन्तिम २० मिनेटमा दुई गोल गर्दै रियल च्याम्पियन बन्यो ।

खेलको ७४औं मिनेटमा कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि भिनिसियसले ८३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलमा थप गोल भएन र २-० को जीतका साथ रियल च्याम्पियन बन्यो ।

खेलमा डर्टमुन्डले पनि केही सुनौलो अवसरहरु पाएको थियो जसलाई उसले सदुपयोग गर्न सकेन । डर्टमुन्ड १९९७ मा च्याम्पियन्स लिग विजेता रहँदा २०१३ को च्याम्पियन्स लिगको फाइनलमा पुगेर जर्मन प्रतिद्वन्दी बायर्न म्युनिखसँग पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय