प्रचण्डले अर्को उथलपुथल गर्दै, आफ्नै मन्त्री फिर्ता !

काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा पार्टीका तर्फबाट सहभागी सबै मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन् ।
यहि शुक्रबार पार्टी पदाधिकारी बैठक राखेर हालका सबै मन्त्री फिर्ता र नयाँ सेट पठाउने निर्णय गराउने उनको तयारी छ। यसलाई प्रचण्डले संभावित उथलपुथल भनेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारमा सहभागी गठबन्धन भित्रका दलहरू बीच खटपट सुरु भएको कारण अन्य साना दल समेतलाई सरकारमा भित्र्याउन लागिएको हो।
प्रधानमन्त्रीले जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद प्रभु शाहलाई सरकारमा सामेल गराउने तयारी छ। जसका लागि पार्टी भित्रका मन्त्री हटाउनुपर्ने देखिन्छ। त्यस्तै नेकपा एमालेले पनि एक वा दुई जना मन्त्री हटाउन प्रधानमन्त्री प्रचण्डलाई ‘ओके’ भनेको छ। स्रोतका अनुसार एमाले र माओवादीबाट कम्तीमा ३ मन्त्री फिर्ता बोलाएर अन्य सानादल भित्र्याउन लागिएको हो।
सरकारमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निहुँ खोज्न थालेपछि १० सिट बराबरको पुर्ती बाहिरबाट पुर्याउने तयारी स्वरुप ६ सिट भएको जनमत र ४ सिट भएको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउन खोजिएको हो। यो बाहेक स्वतन्त्र सांसद प्रभु शाह र अमरेश कुमार सिंह पनि मन्त्री हुने दौडमा छन् ।
प्रधानमन्त्रीको यो उथलपुथल पछि माओवादीबाट मन्त्री भएका केहिको जागिर जाने निश्चित छ। स्रोतका अनुसार हाल पर्यटन मन्त्री रहेका हितबहादुर तामाङ र उर्जामन्त्री शक्ति बस्नेत ‘रेड जोन’मा छन् । त्यसैगरी एमालेबाट मन्त्री भएका २ जना हटाउने तयारी छ। जसमा ज्वालाकुमारी शाह र राजेन्द्र राई पर्न सक्छन् ।

