सरकारी खर्चमा उपेन्द्रको ५५ पटक विदेश भ्रमण

काठमाडौं। कुनै दलको नेता मन्त्री वा प्रधानमन्त्री भएपछि सरकारी खर्चमा कति पटक विदेश पुग्छन् होला ? तपाईंलाई लाग्न सक्छ २/४ पटक पक्कै जान्छन् वा त्यस्तै घुमन्ते परे भने १० पटक पनि जान सक्छन् । तर,जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं हालका स्वाथ्य जनसंख्या तथा वातावरणमन्त्री उपेन्द्र यादवले ५५ पटक विदेश भ्रमण गरेको रहस्य बाहिर आएको छ।
पार्टी फुटेको दिन अर्थात तीन दिन अघि पनि उपेन्द्र अमेरिका भ्रमणमा थिए। पार्टी फुटको समाचार सुनेपछि उनी हतार हतार भ्रमण छोट्याएर स्वदेश फिर्ता भएका हुन् । पछिल्लो पटक मन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण थियो। तर,यस अगाडी मन्त्री बन्दा पनि उनी पटक-पटक विदेश भ्रमणमा नै हुन्थे।
उपेन्द्रको विदेश भ्रमणको हिसाबकिताब उनकै पार्टी नेताकार्यकर्ताले राखेका छन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार उपेन्द्रले यसअघि ५४ पटक सरकारी खर्चमा विदेश भ्रमण गरिसकेका छन् ।प्रदीप यादवका अनुसार उपेन्द्रको यो ५५ औं पटकको विदेश भ्रमण हो र त्यो पनि सरकारी खर्चमा।
उपमहासचिव यादवका अनुसार उपेन्द्र यादव विदेश भ्रमण गर्न औधी रुचाउँछन् । अन्त नभए भारत भए पनि उनी गइरहन्छन।‘उहाँ यो भन्दा पहिला मन्त्री हुँदा ५४ पटक विदेश जानु भएको थियो । अहिले पनि मन्त्री हुँदा सुरुवात गरिसक्नु भएको थियो । दुई दिन आएर नेपाल बस्ने फेरि विदेश जाने उहाँको बानी हो,’ उपमहासचिव यादवले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् ।

