प्रचण्डलाई बाबुरामको चूनौति : ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा चुनाव लडौं’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हिम्मत भए कार्यकारी राष्ट्रपतिमा आफुसँग चुनाव लड्न चुनौती दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले माओवादीमा छँदादेखि नयाँ शक्ति पार्टी बनाउँदा र अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउनुपर्छ भन्ने मुद्दा उठाएको पनि बताए ।
उनले नेसपाकै केही नेताहरुले बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति मागेको भनेर लगाएको आरोपको पनि खण्डन गरे । उनले भने,‘माओवादी हुँदादेखि आजसम्म कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको मान्छे, आज कसैसँग एउटा पदको निम्ति हात थापेर हिँड्छ त ? म चूनौति दिन्छु ती मान्छेलाई, हिम्मत छ भने आउ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाउँ, ल आउ अनि चुनाव लडौं, तिमीहरुबाट को उभिन्छ, बाबुराम भट्टराई चुनाव लड्न तयार छ । नेपाली जनताले फैसला गर्छन् ।’

उनले सुशासनविना समृद्धि हाँसिल गर्न नसकिनेमा समेत जोड दिए। आफुले राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिलाई जोड दिएको भन्दै उनले अबको राजनीति भ्रष्टहरुको हातबाट नेपाली जनताको हातमा ल्याउनुपर्ने समेत बताए।
कार्यक्रममा गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटा,पार्टी नेतृ दुर्गा सोव लगाएतले पनि धारणा राखेका थिए।

