माधव-झलनाथका उम्मेदवारको दुबै क्षेत्रमा धरौटी जफत !

काठमाडौं । नेकपा एमालेलाई टक्कर दिने र अन्तिममा आफैंले चुनाव जित्ने अभियान सहित इलाम र बझाङको उप-चुनावमा होमिएको नेकपा (एकीकृत समाजवादी)का दुबै क्षेत्रका उम्मेदवारको धरौटी जफत भएको छ।
वैशाख १५ गते इलाम २ र बझाङ-१ को प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले जित्ने दाबी गरेको थियो। इलाम सो पार्टीका सम्मानित नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला समेत हो। चुनावी कमान्डर पनि झलनाथ आफैं थिए।
तर, दुवै क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि एकीकृत समाजवादीका दुबै क्षेत्रका उम्मेदवारको धरौटी जफत भएको हो । त्यसमा पनि इलाममा त झन कन्तबिजोग भएको छ। एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार मत ल्याएर बिजयी हुँदा समाजवादीका जीतबहादुर राईले ५ सय मत पनि कटाएनन् ।
इलाम २ मा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले मात्र ४०८ मत पाए । यस्तै बझाङमा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत पाए । दुबै क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् ।
गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।२०७९ को निर्वाचनमा देशभरबाट १८ लाख भोट ल्याउने भनेर चुनावमा होमिएको समाजवादीले ३ लाख भोट नकटाउदा राष्ट्रिय पार्टी समेत भएन ।

